काठमाण्डौ । अमेरिका, चीन, बेलायतदेखि इजरायलसम्मका देशहरुले कोरोना भाइरसविरुद्धको खोप विकासलाई तीव्रता दिइरहेका छन् । यस्तो बेलामा कुन देशले पहिला यसको खोप विकास गर्छ भन्ने विषयमा विश्व समुदायकै नजर छ । यस्तोमा एक अमेरिकी कम्पनीले कोरोनाविरुद्धको खोप तयार भएको र आगामी अक्टूबरदेखि बजारमा आउने दाबी गरेको छ । 

अमेरिकाको निकै ठूलो फर्मा कम्पनी फाइजरका चिफ अपरेटिंग अफिसर अल्बर्ट बुर्लाले दाबी गर्दै भनेका छन् कि सबै कुरा आशा गरेअनुसार नै विकास भए भने अक्टोबरसम्म खोपको लाखौं डोज तयार गरी बजारमा पठाउन सकिनेछ । 

यो कम्पनीले कोरोनाविरुद्धको जुन खोप तयार गरेको छ, त्यसलाई बीएनटी १६२ नाम दिइएको छ । 

मार्च ५ मा जर्मनी यो खोपको पहिलो डोज मानिसमा परीक्षण गरिएको थियो । टाइम्स अफ इजरायलसँग विशेष कुराकानी गर्दै अल्बर्ट बुर्लाले भनेका छन् कि सबै कुरामा ठूलो परिवर्तन भएन र अवस्थामा कुनै बदलाव आएन भने कोरोना संक्रमण निको पार्ने निकै प्रभावकारी खोप अक्टोबरसम्म बजारमा ल्याउने गरी उनको कम्पनीले युद्धस्तरमा काम गरिरहेको छ । 

खासमा फाइजरले यूरोप तथा अमेरिकामा जर्मनीको फर्मा कम्पनी बायोनटेकसँग मिलेर कैयन औषधिहरुमाथि शोध गरिरहेको छ । फाइजर कम्पनीले हाल अलग अलग चार खालका औषधिहरुको विकास गरिरहेको समाचारमा उल्लेख छ । कम्पनीले जूनदेखि जुलाईसम्म यी चारमध्ये कुन चाहि दबाई कोरोना संक्रमण नियन्त्रणमा बढी प्रभावकारी हुन्छ भन्ने कुराको निक्र्यौल हुनेछ । यसका लागि फाइजरले डेटाहरु संकलन गरेर त्यसको विश्लेषण र अनुसन्धान गरिरहेको छ । 

यसअघि ब्रिटेनको अर्को एक फर्मा कम्पनी अस्त्रजेनेकाले समेत यो वर्षको अन्तसम्म कोरोनाविरुद्धको खोप विकास गरिसक्ने विश्वास व्यक्त गरेको थियो । 

यो कम्पनीले युनिभरसिटी अफ अक्सफोर्डसँग मिलेर कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका कैयौं दबाई कम्पनीहरुले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । हाल विश्वभर १२० खालका भ्याक्सिनमाथि अनुसन्धान भइरहेको छ । विश्वभरका करिब १०० वटा ल्याबमा कोरोनाविरुद्धको खोपको विकास भइरहेको समेत समाचारमा उल्लेख छ ।