काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै अमेरिकाको सम्पूर्ण नाता सकिएको बताएका छन्।

ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोरोनाभाइरस संक्रमण सुरुआती अवस्थामै रोक्न असफल भएको आरोप पनि लगाएका छन्। संयुक्त राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीलाई अमेरिकाले दिँदै आएको फन्ड पहिले नै रोकिसकेको छ। 

ट्रम्पले डब्ल्यूएचओ चीनको कठपतुली बनेको आरोप पनि लगाउँदै आएका छन्। ‘हामीले डब्ल्यूएचओलाई पटकपटक आफ्नो गतिविधिमा सुधार गर्न अनुरोध गर्यौँ तर सफल भयौँ’, उनले भने, ‘आज म डब्ल्यूएचओसँगको सबै नाता तोडेको घोषणा गर्छु।’ 

राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको फन्ड अब विश्व पब्लिक हेल्थमा लगाउने घोषणा पनि गरे। ‘डब्ल्यूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा छ जब कि चीनले उसलाई अमेरिकाको तुलनामा नगण्य फन्ड दिँदै आएको छ’, उनले भने।

गत महिना ट्रम्पले चेतावनी दिँदै ३० दिनभित्र डब्ल्यूएचओमा ठोस सुधार नभएर अमेरिकाले स्थायी रुपमा फन्ड बन्द गर्ने चेतावनी दिएका थिए।