काठमाण्डौ । काठमाण्डौ उपत्यकाभित्रका लागि स्थानीय प्रशासनले जारी गरेको सवारी पास लकडाउन अवधिभरका लागि नवीकरण गर्नु नपर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मंगलबार एक सूचना प्रकाशित गरी पछिल्लो पटक जेठ २ गतेदेखि जारी भएका नीलो रंगका सवारी पास लकडाउन अवधिभरका लागि मान्य हुने जनाएको हो । 

जेठ २ गतेदेखि जेठ १९ गतेसम्म जारी भएका काठमाण्डौ उपत्यकाभित्रका लागि जेठ २० सम्मको अवधि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका सवारी पासहरु बन्दाबन्दीको अवधिभर मान्य हुने भएकोले नवीकरण गर्नु नपर्ने प्रशासनले आफ्नो सूचनामा उल्लेख गरेको छ । 

यी क्षेत्रमा खटिएकाहरुका लागि जारी भएका ७ दिनभन्दा बढी अवधिकासहित जेठ २० गतेसम्मका लागि जारी सवारी पासहरु समेत लकडाउन अवधिभर मान्य हुने प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए । 

उनका अनुसार सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड बढ्न गई कोरोना संक्रमण फैलिने जोखिम देखिएकोले यस्तो निर्णय गरिएको हो। 

जेठ २१ गतेदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा पठाउन र सवारी पास तयार भएको जानकारी पाएपछि मात्र कार्यालयमा सम्पर्क राख्न पनि भनिएको छ ।