काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडले स्थानीय र सर्वसाधारणका लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा केवलकार, होटल तथा रेष्टुरेन्ट लगायत संचालन गरिरहेको कम्पनी आइपीओ निश्कासनका लागि धितोपत्र बोर्ड पुगेको हो । 

कम्पनीले प्रतिकित्ता रु. १०० दरका कुल १८ लाख ४० हजार ९१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न चाहेको हो । 

आइपीओ निश्कासनमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहने बताइएको छ । 

चन्द्रागिरी हिल्स लिमीटेडमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायतको लगानी रहेको छ । सेयर बजारका अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको समेत यो कम्पनीमा लगानी छ । यो कम्पनीमा प्रमोटरको रुपमा हेमराज ढकाल, नवराज नेपाल र कल्याण गुरुङ समेत रहेका छन् । 

कुल प्रस्तावित आइपीओ कित्तामध्ये ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित स्थानीयलाई तथा बाँकी १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । चुक्तापूँजीको २ प्रतिशत सेयर आयोजना प्रभावित तथा १० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बताइएको छ । 

बाँकी रहेको ८८ प्रतिशत सेयर संस्थापकमै रहनेछ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड भन्दा केही बढी हुने बताइएको छ । 

चन्द्रागिरी हिल्स लिमीटेडको ९ औं वार्षिक साधराणसभाले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।