काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्जा सुविधा उपभोग गरिरहेका आफ्ना सम्पूर्ण ग्राहकलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा २ प्रतिशतसम्म छुट दिने भएको छ।

कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै ग्राहकलाई केही राहत होस् भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याजदरमा २ प्रतिशतले छूट दिइएको फाइनान्सले जनाएको छ। 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यो कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पुर्याउने प्रयास गरेको र आगामी दिनमा अझ उत्तरदायी भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्पूर्ण कर्जामा दिइएको २ प्रतिशतसम्म ब्याजदर छुटबाट वित्तीय संस्थाको शाख अभिवृद्धि हुनुका साथै संस्थाप्रति ग्राहकको विश्वास, भरोशा तथा माया अझ प्रगाढ हुँदै जाने फाइनान्सनले विश्वास लिएको छ।