काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रिमियमसहित १२ सय ९० प्रतिकित्तामा निश्कासन गरेको एफपीओमा परेको आवेदनको फाइनल अपडेट प्राप्त भएको छ । जस अनुसार ३ अर्ब ३० करोडको आवेदन माग हुँदा देशभरबाट २ लाख १४ हजार १ सय ७३ आवेदकहरुले ३५ अर्ब ३६ करोड बराबरको प्रस्ताव हालेका छन् । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आस्वा प्रणालीबाट आउन बाँकी रहेका तथ्यांकहरुलाई समेत जोडेर फाइनल अपडेट सार्वजनिक गरेको हो । यो हिसाबले स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा करिब ११ गुणा बढी आवेदन परेको छ । 

एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार २ लाख भन्दा बढी आवेदकहरु रहेको अवस्थामा ६० दिनभित्र सार्वजनिक निश्कासनको बाँडफाँड सक्नुुपर्ने व्यवस्था अनुसार नै आगामी जेठ २ गतेभित्र बाँडफाँडको काम सक्ने योजनामा काम अगाडि बढाइएको छ । 

यसैबीच, सार्वजनिक निश्कासनहरुको आवेदन आस्वा प्रणालीबाट दिन पाइने व्यवस्थाको निकै राम्रो प्रयोग स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा भएको देखिएको छ । यो बैंकको एफपीओमा परेका कुल आवेदनमध्ये २१ अर्ब ६७ करोडको प्रस्ताव आस्वा प्रणालीबाट आएको छ भने बाँकी परम्परागत विधिबाट आवेदन परेको छ । कुल आवेदकमध्ये आस्वाबाट ७५ हजार ७ सय ८१ लगानीकर्ताले आवेदन दिएका छन् । १ लाख ३८ हजार ३ सय ९२ आवेदकले भने परम्परागत विधिबाटै प्रस्ताव पेश गरेका छन् । यसरी हेर्दा ठूला लगानीकर्ताहरुले चाहि विशेष गरी आस्वा सिस्टम रोजेका देखिएको छ । 

एफपीओको पूर्ण बाँडफाँड र व्यवस्थापनपछि स्ट्याण्डर्डको चुक्तापूँजी ४ अर्ब पुुग्नेछ । स्रोतहरुका अनुसार यो बैंकले एफपीओबाट संकलन भएको प्रिमियम रकम र चालुु आर्थिक वर्षको खूद नाफाबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर वितरणको योजना बनाएको छ । यही विधिबाट मात्र उसको ८ अर्ब चुक्तापूँजी पुुग्ने भएकोले सतप्रतिशत बोनस आउनेमा धेरै ढुक्क छन् । बैंक व्यवस्थापनले नेपालीको पैसालाई प्रयोग गरेर निकै चलाख्याईपूर्वक चुक्तापूँजी ८ अर्ब पुुर्याएको देखिएको छ । यसो गर्दा ७५ प्रतिशत सेयर होल्डर रहेको विदेशी लगानीकर्ताहरुले एकपैसा थप्नुुपरेन । हकप्रद आएको थियो भने उनीहरुले पनि पैसा लगाउनुपथ्र्यो ।