काठमाण्डौ । पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचस्थित पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार हतियाधारीहरुले आक्रमण गरेका छन्। 

घटनामा आक्रमणकारीसहित ७ जनाको ज्यान गएको छ। घटनामा संलग्न सबै चार आक्रमणकारी मारिएको पाकिस्तानी प्रहरीले जनाएको छ। 

हतियाधारी समूहले बिहान करिब ७ बजे पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण गरेका थिए। उनीहरु पार्किङको क्षेत्रहुँदै स्टक एक्सचेन्जको भवनमा प्रवेश गरेर ग्रिनेड प्रहार गरेका थिए। 

भवनभित्र ग्रिनेड फ्याँकेर बाहिर निस्किने क्रममा हतियाधारी र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा आक्रमणकारीहरुसहित ७ जना मारिएको बताइएको छ।

घटनामा ३ जना घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ। 

घटनाको जिम्मेवारी प्रतिबन्धित समूह बलुचिस्तान लिबरेसन आर्मीले लिएको छ। उसले माजिद ब्रिगेडले आत्मघाती हमलालाई अन्जाम दिएको स्वीकारेको छ।

स्टक एक्सचेन्जका निर्देशक अदिब अली हबिबले हतियाधारी समूह ट्रेडिङ हलमा प्रवेश गरी गोली चलाएको बताएका छन्। उनका अनुसार ज्यान गुमाउनेमा स्टक एक्सचेन्जका एक गार्ड पनि छन्।

पाकिस्तानको यो स्टक एक्सचेन्ज निकै व्यस्त हुने गर्छ। त्यहाँ सयौँ कारोबारी जाने गर्छन्। – एजेन्सी