काठमाण्डौ । कृषि विकास बैंक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरासँग प्रतिष्ठान परिसरमा बैंकको सेवा संचालन गर्ने विषयमा सम्झौता भएको छ । 

कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्स काउण्टर, एटीएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको बिलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने विषयमा असार १६ गते एक समारोहका बीच सम्झौता भएको हो । 

आगामी पाँच बर्षका लागि भएको उक्त सम्झौतामा प्रतिष्ठानको तर्फबाट उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरे । 

कृषि विकास बैंकका संचालक हरिप्रसाद पराजुलीको रोहवरमा भएको उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ 

देशको ७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत २८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य सहित आगामी महिना भित्र उल्लेखित सेवा संचालन गर्नेछ । 

अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिईएको छ । 

सम्झौतापत्रमा हस्ताक्षर गर्ने समारोहमा प्रतिष्ठानका निर्देशक प्रा. डा. अर्जुन आचार्य, डा.नरेन्द्रविक्रम गुरुङ्ग, डा. भरतबहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल, अधिकृत नरायण आचार्य तथा बैंकको तर्फबाट मुख्य शाखा प्रवन्धक रघुनाथ न्यौपाने, बरिष्ठ शाखा प्रमुख मोतिप्रसाद पौडेल र बरिष्ठ शाखा प्रमुख महेशप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।