काठमाण्डौ। काला र गोरा जातिका बीच रहेको सम्पत्तिको खाडल कम गर्ने प्रयासस्वरुप नेटफ्लिक्सले काला जातिको स्वामित्व रहेका अमेरिकी बैंकहरुमा लगानी गर्ने घोषणा गरेको छ।

नेटफ्लिक्सले मूल धारका बैंकहरुको तुलनामा अल्पसंख्यक जातिलाई कर्जा प्रवाह गर्ने मामिलामा राम्रो ट्याक रेकर्ड भएका काला जातिको स्वामित्व भएका बैंक, वित्तीय संस्था र सामुदायिक विकास संस्थाहरुमा आफ्नो २ प्रतिशत नगद अर्थात १०० मिलियन अमेरिकी डलर निक्षेप गर्ने जनाएको छ। 

अल्पसंख्यकको स्वामित्वमा रहेका बैंक र कर्जा संगठनहरुको अमेरिकाको कुल व्यावसायिक बैंकिङ सम्पत्तिमा १ प्रतिशतमात्रै हिस्सा रहेको छ। ‘यी समुदायहरुमा अधिक पुँजीको पहुँच पुर्याउँदा यसले यी समुदायका मानिस र व्यवसायमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्नेमा हामी विश्वस्त छौँ’, नेटफ्लिक्सले आफ्नो वक्तव्यमा भनेको छ, ‘हाम्रो यो कदमले धरै परिवारहरुलाई आफ्नो पहिलो घर खरिद गर्न, कलेजको पढाइका लागि रकम जम्मा गर्न र साना व्यवसायहरु सञ्चालन र वृद्धि गर्न सहयोग पुर्याउनेछ।’

यो कदमको सुरुआतका रुपमा कम्पनीले काला जातिका उद्यमीहरुलाई सहायता प्रदान गर्ने अमेरिकाभर ३५ वटा कार्यालयहरु भएको न्युयोर्कमा रहेको एउटा वित्त विकास कम्पनीमा २५ मिलियन डलर लगानी गर्ने भएको छ। – एजेन्सी