काठमाण्डौ । पछिल्लो समय उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यकामा गत २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी ५४ नयाँ कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लामा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । 

उपत्यकाका काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । यी तीन जिल्लाका कुन कुन ठाउँमा संक्रमित फेला परेका हुन् भन्ने विषय खुलाइएको छैन । 

काठमाण्डौ उपत्यकामा पछिल्ला दिनहरुमा दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि सरकारले संक्रमण समुदायमै फैलिएको हुनसक्ने आशंकासहित विभिन्न क्षेत्रहरु तोकेर त्यहाँबाट स्वाब संकलनको कार्यलाई तीव्र पारेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लाको समुदायमै संक्रमण फैलिएको नफैलिएको विषय पत्ता लगाउन विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन तथा परीक्षण गर्ने रणनीति अनुसार काम अगाडि बढाइसकिएको छ । 

पहिलो चरणमा तीनकुने र नख्खुडोलका २२८ जनाको स्वाब संकलन गरिएको र ती सबै स्वाबको पीसीआर परीक्षण गर्दा सबै  रिपोर्ट नेगेटिभ आएको गौतमले जानकारी दिए । 

पछिल्लो समय काठमाण्डौको ढलमा समेत कोरोना भाइरस फेला परेपछि भित्रभित्रै अवस्था प्यानिक बनिसकेको हो कि भन्दै जनस्वास्थ्यविज्ञहरुले समेत चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरुले संक्रमण समुदायस्तरमै फैलिइसकेको हुनसक्ने भन्दै परीक्षणलाई तीव्रता दिन आग्रह गर्दै आएका थिए । यहीकारण सरकारले समेत विभिन्न स्थानहरु तोकेर परीक्षणलाई तीव्र पारेको हो । 

यसैबीच, गत २४ घण्टामा देशभर १८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २६४ संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।