काठमाण्डौ । लगानीकर्ताले आफ्नै टीएमएसबाट आफैले आवश्यकता अनुसार डिम्याट खाता परिवर्तन गरी  इच्छाअनुसारको ब्रोकरबाट सेयर कारोबार गर्न सकिने व्यवस्था हुने भएको छ ।

एक डिम्याट एक ब्रोकर सेयर कारोबार गर्ने अभ्यासमा लगानीकर्ताले ब्रोकर परिवर्तन गर्दा अब आफैं गर्न पाउने भएका हुन् ।

पछिल्लो समय लगानीकर्ताहरुले प्रबिधिले दिनप्रतिदिन फड्को मार्दै गएको अवस्थामा नेपालको सेयर बजारमा भने एक ब्रोकर एक डिम्याट खाता लागू हुनु दुर्भाग्य भएको भन्दै विरोध गरिरहेका छन् । लगानीकर्ताले आफ्नै टीएमएसबाट आफैले आवश्यकता अनुसार डिम्याट खाता परिवर्तन गरी  कारोबार गर्न सकिने ब्यवस्था गरी टीएमएसमा डिम्याट परिवर्तन गर्न पटकैपिच्छे वाईकोलाई गुहार्नु पर्ने अवस्थाको अन्त्य गर्न समेत माग हुँदै आएको थियो ।

एक डिम्याट खाता र एक ब्रोकर मात्रै चुन्न पाउने नेप्सेको अनलाइन प्रणालीअनुसार डिम्याट खातासमेत इन्टीग्रेट भएको र  एकभन्दा बढी ब्रोकरबाट सेयर बेच्न अप्ठ्यारो भएपछि यसले  धेरै लगानीकर्ताहरुलाई असहज बनाइरहेको छ । 

यहीकारण इमेलको सट्टामा टीएमएसमा लगइन गरेपछि चेन्ज बीओआइडी म्यापिङ्ग अप्सन रहने व्यवस्था वाइकोले गरेको छ । यो सुविधाको सुरुवात आगामी सातादेखि नै हुनेछ । 

यसै विषयमा नेप्से, वाइको र ब्रोकरका बीच एकचरण छलफल समेत भइसकेको छ। 

वाइको प्रालिले ब्रोकरसँग सल्लाह गरिरहेको र ब्रोकरको आफ्नो ग्राहकसँग उधारो रकम उठाउनुपर्ने हुनाले ब्रोकर परिवर्तनमा जटिलता हुने जोखिम बढेको र अब सिस्टमबाट चाहिँ ब्रोकरलाई जानकारी गराइने मध्यमार्गी उपाय खोजिएको बताइएको छ । यस विषयमा ब्रोकरहरु समेत सकारात्मक छन् ।

हाल ब्रोकर परिवर्तनका लागि २ वटा उपाय छन् । पहिलो आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई नै डिएक्टिभ गरिदिन मौखिक अनुरोध गर्नुपर्छ र दोश्रो सेयर कारोबार गर्न ब्रोकर परिवर्तन गर्नुपर्ने गरी नेप्सेलाई डिम्याट नम्बर, कारोबार गर्न चाहेको ब्रोकर नम्बर र लगानीकर्ताको क्लाइन्ट आइडी इमेल गर्नुपर्नेछ ।