काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बिग मर्जरको नीति ल्याएर देशमा वाणिज्य बैंकहरुको संख्या १२ देखि १५ सम्म पुर्याउने तयारी गरिरहेको छ । यही बेला राष्ट्रबैंकको सो नीतिलाई साथ दिने गरी २ ठूला बैंकबीचको मर्जरका लागि अन्तिम सहमतिको प्रयास भइरहेको छ । 

लामो समयदेखि चर्चामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरले साकार रुप पाउने संकेतहरु देखा पर्न थालेका हुन् । 

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाटै मात्र हिमालयन बैंकलाई टेकओभर गर्ने गरी मर्जरमा जानुपर्ने भन्दै हल्लाखल्ला हुने गरेको थियो । तर, पछिल्लो अवस्थामा केही परिवर्तनहरु भएका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर गराउन सकिए अन्य बैंकहरुलाई समेत मर्जरमा जाने बाध्यकारी अवस्था सिर्जना हुन्छ भन्ने विश्लेषणसहित नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयम्ले चासो देखाएपछि केही सकारात्मक संकेतहरु देखा पर्न थालेका हुन् । अर्थात, पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान सकिन्छ या सकिन्न भन्ने विषयमा हिमालयन बैंकको संचालक समितिदेखि व्यवस्थापन तहमा समेत बाक्ला छलफलहरु हुन थालेका छन् । 

स्रोतका अनुसार सुरुवातमा नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकलाई प्राप्ति गर्ने गरी आफ्ना प्रयासहरुलाई अगाडि बढाएको थियो । तर, हिमालयन बैंकले आफ्नो गुड्विल देशको बैंकिङ उद्योगमै राम्रो रहेकोले यसलाई निमिट्यान्न पार्ने गरी कसैमा बिलय नहुने प्रष्ट अडान लिएपछि इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकका कतिपय शर्तहरु मानेर अगाडि बढ्न तयार देखिएको छ । 

‘हामी हाम्रो गुडविल त्याग्न सक्दैनौं र हामीभन्दा संस्थागत सुशासनमा कमजोर बैंकसँग बिलय हुने कुरा त कल्पनाभन्दा बाहिरको कुरा हो ।’ हिमालयन बैंकका एक संचालकले बिजशालासँग भने–‘त्यसकारण पछिल्लो समय बराबरी हैसियतमा हिमालयन बैंकको गुड्विल कायम रहने गरी मर्जर गर्न सकिन्छ कि भन्ने विषयमा छलफलहरु भइरहेका छन् ।’ 

ती संचालकका अनुसार हिमालयन बैंकको स्पष्ट अडान बुझेको इन्भेष्टमेन्ट बैंकको संचालक समिति समेत प्राप्ति नभई मर्जरकै मोडलमा जान सकारात्मक देखिएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बराबरी हैसियतमै भए पनि मर्जरमा जान आफूहरु तयार भएको, हिमालयन बैंकका अन्य शर्तहरु समेत मान्न तयार भएको सन्देश दिएपछि हिमालयन बैंकको संचालक समिति र व्यवस्थापन समेत यो प्रस्तावमा सकारात्मक बन्न थालेको छ । 

‘हाम्रो संचालक समितिमा पनि पछिल्लो समय इन्भेष्टमेन्ट बैंकको प्रस्तावमा पटक पटक छलफल भइसकेको छ ।’ स्रोतले भन्यो–‘उच्च व्यवस्थापन तहमा समेत यो विषयमा बाक्ला छलफलहरु हुन थालेका छन् ।’ 

यो छलफलका क्रममा हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको काम गर्ने शैली संस्थागत नरहेको, राजा महाराजाले जस्तो आदेशकै भरमा काम हुने गरेको, ठूला लोनहरु प्रवाह गर्दा समेत लापरबाही हुने गरेको, पहिला लोन दिने निर्णय गरेर पछि त्यसको कागजात मिलाउन भनी कर्मचारीलाई दवाब दिने गरिएको र मुख्य रुपमा संचालक समितिको व्यवस्थापनमाथि निकै ठूलो र निरन्तरको हस्तक्षेप हुने गरेको विषयहरु उठ्ने गरेका छन् । 

‘हिमालयन बैंक संस्थागत सुशासनको दृष्टिकोणबाट निकै राम्रो र बलियो बैंक हो ।’ स्रोत भन्छ–‘इन्भेष्टमेन्ट बैंकमा संस्थागत सुशासन छैन । त्यस्तो बैंकको संचालक समिति र व्यवस्थापनबाट डोमिनेन्ट हुने गरी हाम्रो बैंक मर्जरमा जान हुँदैन भन्ने हाम्रो निश्कर्ष हो ।’ 

पछिल्लो समय हिमालयन बैंकलाई संचालक समितिको अध्यक्ष र सीइओ दुवै दिनेसम्मको आश्वासन आउन थालेको समेत हिमालयन बैंकका अर्का एक संचालकले बताए । ‘व्यवस्थापकीय नेतृत्व हिमालयन बैंकलाई नै दिने भनेर प्रष्ट भनिए पनि संचालक समितिको अध्यक्षको विषयमा अझै पनि प्रष्ट रुपमा कुरा आइसकेको छैन ।’ स्रोत भन्छ–‘हामीलाई पृथ्वीबहादुर पाँडेको निरन्तर व्यवस्थापनमा हुने हस्तक्षेप उचित लाग्दैन । भोलिको दिनमा मर्जर भएर हिमालयन बैंकलाई पनि त्यही दलदलमा फसाउन हामी तयार छैनौं ।’ 

‘अहिले पनि नेपाल इन्भेष्टमेन्ट बैंकको प्रत्येक हप्ता संचालक समितिको बैठक बस्ने गर्छ । संचालक समितिको बैठकका लागि एउटा समय तोकिएको हुन्छ । सो समयमा अरु संचालकहरु अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई राजा महाराजालाई जस्तै बोर्ड बैठक हुने हल बाहिर कुरेर बस्छन् । पाँडे आएपछि मात्र भित्र बसेर छलफल सुरु हुन्छ । छलफल पनि समावेशी ढंगको हुँदैन । पाँडेले पूर्ण रुपमा संचालक समितिलाई हातमा लिएर आफू अनुकुल निर्णय गराउँछन् । प्रत्येक हप्ता संचालक समितिको बैठक बसाउनु पछाडिको पाँडेको स्वार्थ व्यवस्थापनलाई आफू अनुकुल काम गर्न बाध्य बनाउनु हो ।’ हिमालयनस्थित स्रोत भन्छ–‘पाँडेको यही शैलीप्रति हिमालयन बैंकको गम्भीर असहमति हो ।’ 

यो शैली मर्जरपछि बन्ने एकीकृत संस्थामा भित्रिन नदिनका लागि समेत पाँडेले अध्यक्षमा दाबी गर्न नहुने हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनको माग छ । 

पाँडेले समेत आफूलाई अध्यक्षमै बसिरहने इच्छा नभएको बताउन थालेका छन् । तर, यसलाई हिमालयन बैंकले उनको ‘कुटनीतिक भाषा’को रुपमा बुझेको छ । ‘उहाँले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच जसरी पनि मर्जर चाहि गराउनुपर्छ, म त्यसका लागि अध्यक्ष पद छाड्न तयार छु भन्ने सार्वजनिक घोषणा गरे धेरै कुरा तीव्र गतिमा अगाडि बढ्छन् ।’ स्रोतले भन्यो–‘तर, उहाँले मलाई अध्यक्ष हुने इच्छा छैन मात्र भन्नुहुन्छ, अध्यक्ष म हुन्न भन्ने घोषणा गर्न चाहि सक्नुहुन्न ।’ 

हिमालयन बैंकको भन्दा इन्भेष्टमेन्ट बैंकको वासलातको आकार केही ठूलो छ । तर, स्थायी सम्पत्ति, गुडविल, विजिनेश विविधता लगायतमा हिमालयन बैंक इन्भेष्टमेन्ट बैंकभन्दा बलियो र राम्रो छ । हिमालयन बैंकको रेमिटान्स विजिनेश, कार्ड विजिनेश निकै बलियो छ । 

डिजिटल बैंकिङमा समेत हिमालयन बैंक इन्भेष्टमेन्ट बैंकभन्दा अगाडि छ । यी सबै कुरालाई हिसाबकिताब गरेर नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को सेयर स्वाप रेसियोमा मर्जरमा जान हिमालयन बैंक समेत सकारात्मक देखिएको छ । 

पछिल्लो समय मर्जरका लागि हिमालयन बैंकका संचालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेबीच निकै धेरै छलफल र भेटघाट समेत भइरहेका छन् । यो क्रममा दुवै पक्ष एकअर्काका शर्तहरु मानेर अगाडि बढ्न तयार देखिएको छ । 

मर्जरका लागि भइरहेको छलफललाई मूर्त रुप दिनका लागि मौद्रिक नीति कस्तो खालको आउँछ भन्ने दुवै बैंकको प्रतिक्षाको विषय बनेको बताइएको छ । 

यी दुई बैंकबीचको मर्जरका लागि हिमालयन बैंकमा निकै ठूलो लगानी रहेको खेतान ग्रुप समेत सकारात्मक छ । मनोजबहादुर श्रेष्ठ समूह समेत सकारात्मक बन्दै गएको छ । संस्थागत सुशासनमा हिमालयन बैंकको काम गर्ने शैलीलाई अंगिकार गरी अगाडि बढ्न इन्भेष्टमेन्ट बैंक तयार भए राणा समूह समेत मर्जरमा जान पछिल्लो समय सकारात्मक देखिएको छ । यसरी हेर्दा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले केही कुरा त्याग गर्न सकेको खण्डमा दुई बैंकबीचको मर्जर हुने संभावना प्रवल देखिएको छ । 

पाकिस्तानको हबिब बैंकको सेयर स्वामित्व किनेर हिमालयन बैंकमा प्रवेश गर्न लागेको सिडीसीले बैंकलाई अंग्रेजी आर्थिक वर्षको चौथो क्वार्टर(नेपाली आबको दोश्रो) क्वार्टरसम्म पर्खिएर मात्र मर्जरको विषयमा धारणा दिने बताएको छ । यसको अर्थ सीडीसीलाई कुर्ने निर्णय भएमा इन्भेष्टमेन्ट बैंकसँगको संभावित मर्जर केही पछि धकेलिन सक्छ । तर, सीडीसीलाई नकुर्ने निर्णय भयो र मौद्रिक नीति पनि बाध्यकारी खालको आयो भने त्यसअघि नै यी दुई बैंकबीच मर्जर सम्झौता हुने स्रोत दाबी गर्छ ।