काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको कार्यकाल थप भएको छ । 

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि ज्योति पाण्डेलाई नै प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा निरन्तरता दिने निर्णय गरेको हो । 

पाण्डेको कार्यकाल असार मसान्तमा सकिँदै थियो । पाण्डेसँग ३९ वर्षे लामो बैंकिङ अनुभव छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकलाई बलियो र प्रतिष्ठित ब्राण्ड बनाउने कार्यमा उनको महत्वपूर्ण भूमिका छ । 

पछिल्लो समय पनि एक इटालियन कम्पनीको बैंक काउण्टर ग्यारेण्टी बस्दा डूबेको झण्डै २ अर्ब रुपैयाँ स्वदेश फर्काउने काममा पाण्डेले दिनरात नभनी मेहेनत गरेका थिए । 

पाण्डेले बैंकको व्यवस्थापकीय नेतृत्व गरेदेखि इन्भेष्टमेन्ट बैंकले औसतमा ४० प्रतिशतको लाभांश सेयरधनीलाई वितरण गर्दै आइरहेको छ ।