काठमाण्डौ । अमेरिकामा परीक्षण भइरहेको पहिलो कोरोनाभाइरसविरुद्धको भ्याक्सिनले आशाको किरण जगाएको छ।

यो भ्याक्सिनले मानिसमा गरिएको परीक्षणले प्रतिरक्षा प्रणाली विकासमा सफलता प्राप्त गरेको वैज्ञानिकहरुको दाबी छ। अब यो भ्याक्सिनको महत्वपूर्ण ट्रायल सुरु गरिने अमेरिकाका मुख्य स्वास्थ्य विशेषज्ञ डा एन्थोनी फाउचीले बताए। 

नेसनल इन्स्टिच्युट्स अफ हेल्थ र मोडेरना इंकमा डा फाउचीका सहकर्मीहरुले यो भ्याक्सिन विकसित गरेका हुन्। अब आउँदो २७ जुलाईबाट यो भ्याक्सिन ३० हजार मानिसमा परीक्षण गरिने फाउचीले बताए। ‘त्यसपछि यो भ्याक्सिन कोभिड–१९ बाट मानव शरीरलाई बचाउन सक्छ कि सक्दैन भन्ने अन्तिम निष्कर्षमा पुग्ने छौँ’, उनले भने। 

शोधकर्ताले हिजो मंगलबार ४५ स्वयंसेवकहरुमा यो भ्याक्सिनको परीक्षणबारे नतिजा सार्वजनिक गरेका थिए। नतिजाअनुसार यो भ्याक्सिन दिइएका स्वयंसेवकहरुको शरीरमा न्युट्रालाइजिङ एन्टी बडी विकसित भएको छ। जसले एन्डी बडी इन्फेक्सन रोक्न निकै महत्वपूर्ण भूमिका खेल्छ। 

न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानकर्ताहरुको रिपोर्टअनुसार उक्त भ्याक्सिन लिएका स्वयंसेवकको रगतमा ठिक त्यति नै एन्डीबडी पाइए जति कोरोनाबाट ठिक भएर घर फर्किएका बिरामीहरुमा पाइएको थियो। 

यो भ्याक्सिनको अन्तिम नतिजा कहिलेसम्म आउँछ भन्नेबारे यकिन नभए पनि अमेरिकी सरकार यो वर्षको अन्तिमसम्म यसको नतिजा आउनेमा आशावादी देखिन्छ। – एजेन्सी