काठमाण्डौ । 
‘कोभिड १९ हामी जोकोहीलाई पनि हुनसक्दछ । यस महामारीको समयमा सार्वजनिक स्थल वा कार्यालयमा जाँदा कम्तीमा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गरौं । मास्क लगाऔं, र साबुनपानीले मिचीमिची हात धोऔं वा सेनिटाइजर प्रयोग गरौं । कुनै पनि स्वास्थ्य समस्या भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं । कोरोनाबाट आफूपनि बचौ र अरुलाई पनि बचौं । नेपाल टेलिकम राष्ट्रको संचार ।’

नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा यस्तो सन्देश सुन्न थालिएको करिब ४ महिना हुन लागिसक्यो । जनचेतना फैलाउने उद्देश्यले नेपाल टेलिकमको जुनसुकै नेटवर्क वा नम्बरमा फोन गर्दा यो सन्देश आउँछ । अरुलाई सचेत गराउने र दिनमा लाखौं पटक लाखौ मानिसबीचको कुराकानीमा यस्तो सन्देश प्रवाह गर्ने नेपाल टेलिकमभित्र नै सामाजिक दूरी र कोभिड १९ का मापदण्डहरुको धज्जी उडाइन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर, शुक्रबार टेलिकमको केन्द्रीय कार्यालयमा यस्तै घटना भयो । 

अरु बेला टेलिकममा प्रवेश गर्ने सर्वसाधारणलाई हतपत प्रवेश गर्न दिइन्न । ठूलो संख्यामा टेलिकमभित्र प्रवेश गर्ने कुरा त कोभिडपछि असंभव जस्तै छ । धेरै मानिसहरुको आवतजावत हुने, कर्मचारीहरु पनि ठूलो संख्यामा रहने भएका कारण टेलिकमजस्ता संस्था तथा त्यहाँका कर्मचारी सामाजिक दूरी कायम गराउने विषयमा गम्भीर बन्नुपर्छ । तर, देशबासीलाई कोभिड–१९ बाट बच्न र बचाउन सन्देश दिने टेलिकमकै कर्मचारी भने संभावित जोखिमप्रति कत्ति पनि सचेत छैनन् भन्ने कुरा शुक्रबार देखियो । 

टेलिकम व्यवस्थापन र सरकारविरुद्ध त्यहाँका ट्रेड युनियन संगठनहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरेर सरकारको निर्देशन, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड तथा गृह मन्त्रालयले तोकेको सुरक्षा मापदण्डको समेत धज्जी उडाएको पाइएको हो । 

पत्रकार सम्मेलन आयोजनाको नाममा टेलिकमका जिम्मेवार ट्रेड युनियनहरुले २०० भन्दा बढी व्यक्तिलाई दोश्रो तलाको हलमा अटी नअटी भेला गरेर सरकारी निर्देशनको धज्जी उडाएका हुन् । 

सरकारले कोभिड १९ को प्रभाव नहटेसम्मका लागि कुनै एउटा ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था लागू गरेको छ । त्यति मात्र होइन, भीडभाडमा जान नहुने, जाँदा मास्क लगाउनैपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका मापदण्डहरु समेत तोकिएका छन् । टेलिकममा आबद्ध आधिकारिक ट्रेड युनियनहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूनतम मापदण्ड समेत अपनाइएको थिएन । २५ जनाभन्दा बढी भेला नहुन नपाइने सरकारी निर्देशनविपरीत एउटै हलमा २०० बढी भेला पारिएको थियो । 

पत्रकार बस्ने टेबल एकआपसबाट केही पर राखिए पनि टेलिकमकै कर्मचारीहरु भने एकआपसमा टाँसिएर ठेलमठेल गर्दै हलमा बसेका थिए । त्यति मात्र होइन, ट्रेड युनियनका नेताहरु समेत अगाडि पट्टि आसनग्रहण गरी एकआपसमा टाँसिएरै बसेका थिए, सामाजिक दूरी कायम गराउने कुराको अलिकति पनि पालना भएको थिएन । 

टेलिकमभित्र क्रियाशील नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम कर्मचारी युनियनले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा सबै संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार स्वास्थ्य तथा सुरक्षा मापदण्डको बर्खिलाप हुने गरी २५ जनाभन्दा बढी भेला हुन पाइदैन । ‘प्रोटोकल नमान्नेहरुलाई संक्रामक रोग ऐनमा भएको व्यवस्था अनुसार कारबाही हुन्छ । यो विषय जिल्ला प्रशासन कार्यालय काठमाण्डौको कार्यक्षेत्रभित्र पर्ने भएकोले ऊ गम्भीर बन्नुपर्छ ।’–शर्माले भने । 

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले टेलिकमका ट्रेड युनियनहरुले पत्रकार सम्मेलन गर्ने वा कुनै कार्यक्रम गर्ने भन्ने बिषयमा आफूहरुलाई कुनै जानकारी नगराएका र प्रोटोकल विपरीत त्यसरी जम्मा हुन उनीहरुलाई कानूनले छुट नदिएको प्रष्ट्याए । ‘कोभिडका लागि बनाइएको प्रोटोकल नमान्नेहरुलाई सोही अनुसार कारबाही हुन्छ ।’ उनले थपे–‘हामी यो विषयमा गम्भीर भएका छौं । यस्तो संवेदनशील बेलामा जथाभावी गर्न पाइन्न ।’