काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बिहीबार (साउन ८ गते) देखि खुला गरिने भनिएको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको छ।

देशका अधिकांश स्थानहरुमा बाढीपहिरोका कारण भयावह अवस्था सिर्जना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। यसबाट पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ। 

कम्पनीले साउन ८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुलाउने भनेको थियो। कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँबराबरको हुन आउँछ।

त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागिएको थियो। दोस्रो चरण सर्वसाधारणका लागि सोहीबराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। 

पहिलो चरणमा निष्कासन गरिने आईपीओमा प्रभावित क्षेत्रका स्थानीय साउन २२ गतेभित्र खरिद आवेदन दिइसक्नुपर्ने भनिएको थियो। सो मितिभित्र बिक्री नभएमा भदौ ५ गतेसम्म आईपीओमा खरिद आवेदन दिन सक्ने भनिएको थियो। 

स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने भनिएको थियो। 

नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्रका रुपमा ९पञ्चकन्या गापा वडा नं. (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्। 

त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।