काठमाण्डौ । इण्डष्ट्रीको बलियो वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड आधुनिक बैंकिङमा समेत नम्बर वान हुने रणनीति बनाइरहेको छ । 

कोभिड १९ ले दिएको अवसरको सदुपयोग गर्दै हालै सार्वजनिक मौद्रिक नीतिमा समेत आधारित रही इन्भेष्टमेन्ट बैंकले सर्वोत्कृष्ट गुणस्तरको सेवा दिने विगतको इतिहासलाई फर्काउने उद्देश्यले हाल डिजीटल बैंकिङमा समेत अग्रणी बन्ने कार्ययोजनाको खाका कोर्न थालेको हो । 

डिजिटल बैंकिङको उपयुक्त वातावरण अहिले बनेको निश्कर्ष निकाल्दै बैंक संचालक समितिले समेत व्यवस्थापनलाई सोहीअनुसार अगाडि बढ्न निर्देशन दिइसकेको छ । सोही निर्देशनपछि बैंक व्यवस्थापन डिजीटल बैंकिङमा अरु बैंकले भन्दा केही फरक र खास काम गर्ने भन्दै आन्तरिक तयारीमा जुटेको हो । 

अरु बैंकले डिजीटल बैंकिङका नाम जे गरिरहेका छन्, त्यो काम आजको भोलि हुनसक्ने काम हो ।'' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बिजशालासँग भने-'तर, हामी विशेष ढंगले डिजीटल बैंकिङको सेवालाई परिस्कृत गर्न खोजिरहेका छौ । हाम्रा सेवाहरुलाई साच्चिकै डिजीटाइज्ड गर्ने अबको हाम्रो रणनीति हो ।' 

अहिले विभिन्न बैंकहरु डिजीटलाइजेसनमा आक्रामक बनिरहँदा नेपाल इन्भेष्टमेन्ट बैंक केही पछि परेको कतिपयलाई भ्रम हुनसक्ने उल्लेख गर्दै सीइओ पाण्डेले डिजीटल दुनियाँमा पनि आफूहरु उत्कृष्ट हुने रणनीतिका साथ अगाडि बढ्न चाहिरहेको खुलासा गरेका छन् । 

आफूहरुले कोभिड १९ महामारी नियन्त्रणका लागि लकडाउन सुरु हुनुअघिदेखि नै केही भारतीय टेक्नोलोजी कम्पनी र केही अन्य मुलुकका कम्पनीसँग पनि सहकार्य गर्ने प्रयास सुरु गरेको उनले बताए । 'तर, कोभिडले ती प्रयासहरु निश्कर्षमा पुग्ने अवस्था बनेन् ।' पाण्डेले भने-'तर, अब हामी कोभिडकै कारण चूप लागेर बस्नुहुन्न भन्नेमा म प्रष्ट छु। अब संभावित गुणस्तरीय काम गर्नसक्ने विदेशका त्यस्ता कम्पनीसँग कुरा गरेर हाम्रो सेवालाई अत्याधुनिक बनाउनेतर्फ लाग्नेछौ।' 

पाण्डेलाई बैंक संचालक समितिले हालै मात्र ४ वर्षे कार्यकाल थप गरेको छ । अबको कार्यकालभित्रमा डिजीटल बैंकिङको दृष्टिकोणबाट समेत बैंकलाई नम्बर वान बनाउने उनले उद्घोष गरे ।