काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटिजन्स बैंक इन्टरनेशनललाई प्राप्तिको योजना बनाएको खबर बाहिरिएसँगै यी दुई बैंक यदि मिले भने कस्तो सिनर्जी आउला भन्ने विषयमा जिज्ञासा बढेको देखिएको छ । 

हिमालयन बैंकसँग मर्जरको प्रयास गरे पनि त्यहाँ कुरा नमिल्ने अवस्था बनेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले दोश्रो विकल्पको रुपमा सिटिजन्स बैंकमाथि आँखा लगाएको छ । 

इन्भेष्टमेन्ट बैंकका एक संचालककाअनुसार दुवै बैंकका अध्यक्षबीच यो विषयमा एकचरणको कुरा भए पनि बाँकी प्रक्रिया भने अगाडि बढिसकेको छैन । तर, यदि दुई अध्यक्षले मात्रै पनि सहमति जनाउने हो भने यी दुई बैंक मिल्न कुनै समय नलाग्ने स्रोतहरु बताउँछन् । 'इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भनेको कुरा त्यहाँका अन्य संचालकले मान्छन् ।' स्रोत भन्छ-'सिटिजन्स बैंकमा पनि राजनसिंह भण्डारीले भनेको कुरा अरुले मान्छन् । दुई अध्यक्षबीच मात्रै कुरा मिल्यो भने पनि यी दुई बैंकबीच चाँडै मर्जरको सहमति हुनसक्छ ।' 

सिटिजन्स बैंकले पनि पछिल्लो समय यदि नेपाल इन्भेष्टमेन्ट बैंकले राम्रो मूल्य दिन्छ भने आफूहरु मर्जरमा जान तयार भएको सन्देश प्रवाह गरिरहेको छ । तर, सिटिजन्स बैंकले भनेजस्तो १ः१ को स्वाप भने दिन नसकिने इन्भेष्टमेन्ट बैंकका संचालकहरु बताउँछन् । उनीहरुले डिडिएबाट आउने रिपोर्टलाई आधार मानेर अगाडि बढ्ने विषयमा सहमति गर्न सकिने बताइरहेका छन् । 

यी दुई बैंक एक भएमा यसले बैंकिंग उद्योगमा राम्रै हलचल ल्याउने देखिन्छ । यी दुई बैंक यदि एक भए भने मुख्य आर्थिक सूचकहरुमा कस्तो सिनर्जी आउला ? हेरौं:

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासिक रिपोर्टका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ६२ करोड रहेको छ । यसरी हेर्दा यी दुई बैंक बराबरी हैसियतमा मिलेमा करिब २३ अर्ब चुक्तापूँजी भएको बलियो संस्था बन्नेछ । स्वापमा केही तलमाथि हुने अवस्था आयो भने पनि दुई बैंक मिलेपछि २० अर्ब माथिकै चुक्तापूँजी बन्ने देखिन्छ । 

इन्भेष्टमेन्ट बैंकको रिजर्बको आकार ११ अर्ब ५७ करोडको छ भने सिटिजन्स बैंकको ३ अर्ब ४९ करोडको छ । यी दुई बैंक एक हुँदा रिजर्बको आकार १५ अर्ब माथि पुग्नेछ । करिब २० अर्ब चुक्तापूँजी र १५ अर्ब रिजर्ब रहेको बैंकले राम्रो सिनर्जीको सिर्जना गर्न सक्नेछ ।

तेश्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ५६ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब बढी कर्जा प्रवाह गरेको देखिन्छ । सिटिजन्स बैंकले यही अवधिमा ७७ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७५ अर्ब १ करोड बढी कर्जा परिचालन गरेको छ । यसरी हेर्दा यी दुई बैंक एक बने विजिनेशको साइजमा पनि फड्को मार्ने देखिन्छ । अरु बैंकले यी दुई बैंक मिलेपछि बन्ने विजिनेशको साइजसँग प्रतिस्पर्धा गर्न निकै धेरै पापड बेल्नुपर्ने अवस्था आउनसक्छ । 

तेश्रो त्रैमाससम्मको प्रगतिका आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ । सिटिजन्स बैंकले २ अर्ब २४ करोड खूद ब्याज आम्दानी गरेको छ । 

तेश्रो त्रैमाससम्म इन्भेष्टमेन्ट बैंकको मुनाफा २ अर्ब ४९ करोड रहेको छ भने सिटिजन्स बैंकको १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । 

सिटिजन्स बैंकको खराब कर्जाको अनुपात १.५८ प्रतिशत रहेको छ भने इन्भेष्टमेन्ट बैंकको २.६७ प्रतिशत रहेको छ । 

तेश्रो त्रैमासको रिपोर्टका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४.३३ रुपैयाँ रहेको छ भने सिटिजन्स बैंकको १७.१४ रुपैयाँ रहेको छ । 

तेश्रो त्रैमाससम्म सिटिजन्स बैंकको रिटेन अर्निङ ४५ करोड ३३ लाख रुपैयाँ रहेको छ भने इन्भेष्टमेन्ट बैंकको यस्तो अर्निङ १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । 

दोश्रो बजारमा सिटिजन्स बैंकको प्रतिकित्ता सेयर मूल्य रु. २०० हाराहारीमा छ भने इन्भेष्टमेन्ट बैंकको ४५० रुपैयाँ हाराहारीमा रहेको छ । 

कर्मचारीमा छैन समस्या
नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटिजन्स बैंक लिँदाको फाइदामध्ये एउटा हो सहजै ढंगले हुनसक्ने कर्मचारीको व्यवस्थापन । कारण सिटिजन्स बैंकको माथिल्लो लेभलमा रहेका कर्मचारीहरुको संख्या अत्यन्त न्यून छ । दुई बैंक एक भए भने उच्च तहका कर्मचारीको व्यवस्थापनको काम जटिल हुने छैन । 

यी दुई बैंक एक भएको खण्डमा को सीइओ हुने भन्ने लफडा पनि नहुने संभावना देखिन्छ । कारण, सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले वरिष्ठताको हिसाबले इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योतिप्रकाश पाण्डेको नेतृत्व सहजै स्वीकार्ने अवस्था देखिन्छ । 

तर, हिमालयन बैंकसँग मर्जरमा जाँदा भने इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले त्याग गर्नुपर्ने अवस्था बन्नसक्छ । त्यति मात्र होइन, हिमालयन बैंकले पृथ्वीबहादुर पाँडेको अध्यक्षता नस्वीकार्ने प्रष्ट संकेत दिइसकेको छ ।