काठमाण्डौ । कोरोना महामारीका कारण पहिलोपटक कार किन्ने र दोस्रो वा अतिरिक्त कार किन्ने ग्राहकका संख्या बढेको पाइएको छ।

भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीका अनुसार यो महामारीका कारण मानिसहरुले अहिले सार्वजनिक सवारीसाधनमा भन्दा आफ्नै गाडी प्रयोग गर्न चाहिरहेका छन्। महामारी सुरु भएयता जुलाईमा कारको बिक्री बढेको पनि कम्पनीले जनाएको छ। ‘अब चाडपर्वको मौसम सुरु हुन लागेको छ, त्यति बेलासम्म यो भाइरसको अवस्था कस्तो रहन्छ, त्यसमा कारको बिक्री बढ्ने वा घट्ने निर्भर रहन्छ’, कम्पनीले भनेको छ। 

कम्पनीको बिक्रीतर्फका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले यो भाइरसले संसारभर नयाँ ट्रेन्ड निम्याएको बताए। ‘अब मानिसहरु सार्वजनिक वहानभन्दा पनि आफ्नै गाडीमा हिँड्न रुचाउन थालेका छन्’, उनले भने, ‘त्यसको प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव अटो सेक्टरलाई परेको छ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मारुतीको बिक्री गत वर्षको चौथो त्रैमासको तुलनामा पहिलोपटक ५.५ प्रतिशतले बढेर ५१–५३ प्रतिशत पुगेको छ। 

अहिले भारतीय बजारमा मिनी तथा कम्प्याक्ट सेगमेन्टका गाडी किन्नका लागि सोधखोज बढ्न थालेको छ। अहिले यस्तो सोधखोज पहिलेको तुलनामा १० प्रतिशतले बढेर ६५ प्रतिशत पुगेको छ। जुन पहिले ५५ प्रतिशतमात्र हुने गरेको थियो। 

जुलाईमा मारुतीको मिनी कार अल्टो र एस–प्रेसोको बिक्री ४९.१ प्रतिशतले बढेर १७ हजार २५८ युनिट पुगेको छ। गत वर्ष यही महिनामा यस्ता मिनी कार ११ हजार ५७७ युनिटमात्र बिक्री भएको थियो। 

यसैगरी कम्पनीले कम्प्याक्ट सेगमेन्टको बेगनआर, स्विफ्ट, सेलेरियो, इग्निस, बलेनो तथा डिजायरजस्ता कारण १०.४ प्रतिशतले घटेर ५१ हजार ५२९ युनिटमा झरेको छ। यस्ता सेगमेन्टका कारण गत वर्ष यही महिनामा ५७ हजार ५१२ युनिट बिक्री भएको थियो। 

जुलाईमा घरेलु बजारमा मारुतीको कुल बिक्री १.३ प्रतिशत बढेर ९७ हजार ७६८ युनिट पुगेको छ। जुन गत वर्ष यही महिनामा ९६ हजार ४७८ रहेको थियो। – एजेन्सी