काठमाण्डौ । कोरोना महामारीका कारण तमाम भारतीय कम्पनीहरुको सेयर मूल्यमा गिरावट आइरहेपनि एउटा अटो कम्पनीको सेयरले भने कमाल गरेको छ । कोरोनाकालमा पनि उक्त कम्पनीको सेयर मूल्यमा देखिएको व्यापक वृद्धिले मानिसहरु अचम्भित बनेका छन् । कोरोना महामारीको ३ महिनाको दौरान यो कम्पनीको सेयरमूल्य १०९ प्रतिशतसम्म वृद्धि भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अर्थात तीन महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्य दोब्बर भएको छ । 

महामारीको समयमा पनि आफ्ना लगानीकर्तालाई लोभलाग्दो मुनाफा प्रदान गर्ने कम्पनीको नाम स्कर्टस(Escorts) हो । ट्रक र ट्रयाकटर बनाउने यो अटो कम्पनी कोरोनाकालमा लगानीकर्ताका लागि वरदान सावित भएको छ । मार्चको अन्त्यदेखि लिएर जुन महिनासम्म यो कम्पनीको सेयर मूल्य दोब्बरले वृद्धि भएको छ । 

मार्च महिनामा कम्पनीको सेयर मूल्य ५४२ भारतीय रुपैयाँ थियो, जुन ९ जुलाई सम्म आइपुग्दा करिब ११२९ रुपैयाँमा बन्द भएको छ । करिब ३ महिनाको अवधिमा यो सेयरले लगभग १०९ प्रतिशत रिटर्न दिएको छ । अहिले यो कम्पनीको सेयरमूल्य अलटाइम हाईको रेकर्ड स्तरमा छ । 

स्कर्टसको सेयरमूल्य वृद्धि हुनुमा अनेकन कारण छन् । एक त कम्पनीका प्रडक्टको बिक्रीमा वृद्धि भएको छ । जसका कारण कम्पनीका गाडीहरुको मागमा उछाल देखिएको छ । अर्काे कारण भारतको ग्रामीण अर्थतन्त्रले समेत कम्पनीको सेयर मूल्यमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

लकडाउनमा पनि कृषि क्षेत्रलाई छुट दिइएकाले भारतमा कोरोनाको कारण अस्तव्यस्त बनेको अर्थतन्त्रले ट्रयाक्टरको बिक्रीमा कुनै पनि असर गरेन । लकडाउनपश्चात कृषिजन्य उत्पादनको मागमा देखिएको वृद्धिले स्कर्टसको बिक्रीलाई बढाउने काम गर्यो । जुन महिनाको तुलनामा मे महिनामा कम्पनीको बिक्री ६४.५ प्रतिशतले वृद्धि भएको छ । जुन महिनामा मात्रै कम्पनीले करिब १० हजार ८५१ युनिट ट्याक्टर बिक्री गरेको समाचारमा उल्लेख छ । 

-agency