काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको बहुमत कार्यसमिति सदस्य तथा पदाधिकारी डिजीटल माध्यमको प्रयोग गरेर भए पनि साधारणसभा र चुनाव गर्ने निश्कर्षमा पुगेका छन् । 

बुधबार भएको कार्यसमिति बैठकले विद्युतीय माध्यमको प्रयोग गरेर प्रदेशस्तरमै मतदानको व्यवस्था मिलाउन सकिने र साधारणसभाका अन्य कार्यक्रम समेत डिजीटल माध्यमबाट गराउन सकिने भन्दै यसको संभावित मोडालिटी तयार गर्ने गरी ६ सदस्यीय समिति बनाउने निर्णय गरेको छ । 

साधारणसभा र चुनावको मोडालिटीको विषयमा अध्ययन तथा आवश्यक मोडालिटी सिफारिस गर्ने कार्यभारसहित समिति बनेको एक पदाधिकारीले जानकारी दिए । 

समितिमा अरुण सुमार्गी, भरत आचार्य, डीबी बस्नेत, विनोद ढकाल, रञ्जित आचार्य र सुनिलगोपाल श्रेष्ठ सदस्य छन् । यो समितिले १५ दिनभित्र साधारणसभा र चुनावको संभावित मोडालिटी तयार गरी कार्यसमितिमा पेश गर्नेछ । सो मोडालिटी कार्यसमितिबाट पारित गरी स्वीकृतिका लागि सरकारलाई पठाइनेछ । 

कोरोना संक्रमणकै बीच महासंघको साधारणसभा र चुनाव गराउने विषयमा महासंघका पदाधिकारी नै विभाजित भएका थिए । यो विषयमा एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्दै चुनावी मसला समेत बनाएका थिए । 

यसअघिको पदाधिकारी र पूर्व अध्यक्षहरुको बैठकले महासंघको साधारणसभा र चुनाव सरकारले सभासम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्र गर्ने निर्णय गरेको थियो । तर, सो निर्णयमा एउटा पक्षले सार्वजनिक रुपमै विरोध जनाएको छ । सो पक्षले यो विषयमा निर्णय लिन कार्यसमिति बैठक बोलाउनुपर्ने लिखित रुपमै माग गरेपछि आज बैठक डाकिएको हो । 

महासंघको हालको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको व्यक्ति स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था छ । यो व्यवस्था अनुसार शेखर गोल्छा अबको अध्यक्ष बन्नेछन् । यस्तै, भावी अध्यक्ष बन्न पाइने भएपछि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धामा चन्द्र ढकाल र किशोर प्रधान देखिएका छन् । चन्द्र ढकाल हाल एशोसिएसट उपाध्यक्ष छन् भने किशोर प्रधान जिल्लानगर उपाध्यक्ष छन् ।