काठमाण्डौ । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ।

फिलिपिनी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ। विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कूल गार्हस्थ्य उत्पादन १६.५ प्रतिशतले घटेको छ। यस अवधिमा फिलिपिन्स सरकारले कडा नियमहरु सहितको लकडाउन गरेको थियो।

सरकारले यसअघि वर्षको शुरुका तीन महिनामा अर्थतन्त्र ०.७ प्रतिशतले मात्र खुम्चिने आँकलन गरेको थियो। तर सन् १९८१ यता पहिलो पटक अर्थतन्त्रमा सर्वाधिक असर परेको विभागको भनाई छ। विगत तीन दशकमा फिलिपिन्सको अर्थतन्त्र पहिलो पटक मन्दीतर्फ उन्मूख भएको हो।

फिलिपिन्समा यसैसाता कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख १५ हजार नाघेको छ। लकडाउन खुकुलो बनाएसँगै जुन महिनायता मात्र संक्रमितको संख्या पाँच गुणाले बढेको हो। 

सामाजिक–आर्थिक योजना सचिव कार्ल चुआले महामारी र यसबाट अर्थतन्त्रमा परेको असरले विषम परिस्थिति सिर्जना गरेको बताए। तर राष्ट्रपति रोड्रिगो डुटेर्टेले लामो समयसम्म मुलुकलाई बन्दाबन्दीको अवस्थामा राख्न नसकिने बताएका छन्। उनले भनेका छन्, “मुख्य समस्या भनेकै हामीसँग थप रकम अब छैन। हामी जनतालाई थप खाद्यान्न र राहत रकम बाँड्न सक्ने अवस्थामा छैनौं।”

फिलिपिन्सको विप्रेषण पनि अघिल्लो वर्षको तुलनामा पहिलो पाँच महिनामा ६।४ प्रतिशतले घटेको छ। विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका व्यक्तिहरु स्वदेश फर्किएका छन्। 

तथ्याँक विभागका अनुसार उपभोग्य खर्चमा पनि १५.५ प्रतिशतले कमी आएको छ। -रासस/एएफपी