काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको असार ८ गते भएको सोह्रौ कार्यकारिणी समितिको वैठकले  ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन साउन २६ र २७ गते गर्ने र कथमकदाचित उक्त मितिमा ५४ औं वार्षिक साधारण सभा र निर्वाचन हुन नसक्ने स्थिति भएमा पदाधिकारी समिति वा स्थायी समितिबाट छलफल गर्ने निर्णय भए अनुसार साउन ८ गते सवै पूर्व अध्यक्षहरु समेत सम्मिलित पदाधिकारी समितिको वैठकले कोभिड १९ को जोखिमको न्यूनीकरणलाई ध्यानमा राखी नेपाल सरकार मन्त्रीपरिषद्ले अर्को सूचना जारी नभएसम्म सवै प्रकारका सभा सम्मेलन नगर्ने निर्णयलाई सम्मान गर्दै साउन २६ र २७ गते गर्ने भनिएको ५४ औं वार्षिक साधारण सभा हाललाई स्थगित गरी नेपाल सरकारवाट सभा सम्मेलन गर्ने दिने निर्णय भएको १५ दिन भित्र ५४औं वार्षिक साधारण सभा र निर्वाचनको कार्य अघि वढाउने निर्णय भएको थियो । 

साथै उक्त वैठकले कथम कदाचित सभा सम्मेलन गर्न दिने नेपाल सरकारको निर्णय लामो अवधि सम्म लम्विएमा ५४औं वार्षिक साधारण सभा गर्ने वारे ढा“चा र प्रकृया तयार गरी ५४ औं वार्षिक साधारण सभाको कार्यलाई अघि वढाउने महासंघले निर्णय गरेको छ  । 

उक्त निर्णय उपर उपाध्यक्षद्वयले आफ्नो असहमति जनाउदै फरक मत राखेको र यसै सिलसिलामा साउन ९ गते २१ जना कार्यकारिणी समितिका सदस्यहरुबाट ५४ आंै वार्षिक साधारण सभा एवं निर्वाचनको विषयसूची राखी कार्यकारिणी समितिको वैठक बोलाउन निवेदन दिएको छ । 
यसैगरी साउन १४ गते ३४ जना कार्यकारिणी समितिका सदस्यहरुबाट साउन ८ गते भएको पदाधिकारी समितिको वैठकको निर्णयलाई स्वागत गर्दै निकट भविष्यमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा र निर्वाचन प्रक्रियाका विषयमा छलफल गर्न कार्यकारिणी समितिको वैठक बोलाउन निवेदन दिइएको सन्दर्भमा साउन २१ गते बोलाइएको कार्यकारिणी समितिको वैठकले कोभिड १९ बाट देशमा उत्पन्न त्रास तथा जोखिम समेतलाई मध्यनजर गरी महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचन के कसरी अगाडि बढाउने भन्ने बारे ढांचा तथा प्रक्रिया तयार गर्न जिल्ला, वस्तुगत र एशोसिएट क्षेत्रका कार्यकारिणी समितिका सदस्यहरु डि.बी. बस्नेत, अरुण राज सुमार्गी, सुनिल गोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य, भरतराज आचार्य सम्मिलित समिति गठन गर्ने निर्णय भएको छ । 

समितिले ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरु,सीसीएमसी , उद्योगी व्यवसायीहरु, स्वास्थ्य सम्बन्धी विज्ञहरुका साथै सरोकारवाला सबै पक्षहरुसंग छलफल गरी महासंघलाई प्रतिवेदन उपलब्ध गराउने र समितिबाट प्रस्तुत प्रतिवेदन पदाधिकारी समिति र कार्यकारिणी समितिमा छलफल गरी ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनको कार्य अगाडि बढाउने निर्णय भएको जनाएको छ ।