न्युयोर्क। कोरोनाकालमा अमेरिकाका धनाढ्यहरुको सम्पत्तिमा झनै उछाल आइरहेको छ।

यो उछालबीच अब यी धनाढ्यहरुले आफ्नो आम्दानीको ६० प्रतिशत रकम सरकारलाई बुझाउनुपर्ने भएको छ। यसको मतलब अब अमेरिकाका शीर्ष टेक नेतृत्वकर्ता र अन्य धनाढ्यले कोरोनाकालमा गरेको आम्दानीको ४० प्रतिशतमात्र आफूसँग राख्न पाउने भएका छन्। 

प्रस्तावित नयाँ विधेयकका अनुसार अमेरिकी धनाढ्यहरुले आम्दानीको ठूलो हिस्सा फिर्ता गर्नुपर्ने व्यवस्था गरिने भएको हो। ‘मेक बिलिनियर्स पे एक्ट’ अन्तर्गत धनाढ्यहरुले यो वर्षको मार्च १८ देखि सन् २०२१ जनवरी १ सम्म गरेको आम्दानी एकपटकमात्रै लागू हुने ६० प्रतिशत कर लाग्नेछ। 

करबापत धनाढ्यहरुबाट उठाइएको पैसा एक वर्षसम्म अमेरिकीहरुको स्वास्थ्योपचारमा खर्च गरिनेछ। अगस्ट महिनाको ५ गतेसम्म हेर्दा मार्च १८ देखि ४६७ धनाढ्यहरुले आर्जन गरेको ७३१ बिलियन डलरमा कर लाग्ने देखिन्छ। 

यदि यो विधेयक पास भए यो वर्षको अन्त्यसम्म धनाढ्यहरुको आम्दानीमा ६० प्रतिशतको कर लाग्नेछ। यो विधयेकअन्तर्गत महामारीका क्रममा आफ्नो सम्पत्तिको श्रीवृद्धि गरेका टेक र अन्य व्यापारका धनाढ्यहरुले धेरै रकम करका रुपमा बुझाउनुपर्ने हुन्छ। 

कोरोना महामारीका कारण जारी गरिएका लकडाउन र प्रतिबन्धका कारण व्यापारमा उछाल आएपछि अमेजन र वालमार्टको सेयर मूल्यमा धेरै नै वृद्धि देखिएको छ। जसले गर्दा अमेजनका सीईओ जेफ बेजोस र वाल मार्टको संस्थापक परिवार वाल्टनन्सको सम्पत्तिमा अर्बौं डलर थपिएको छ। 

मार्च १८ देखि अगस्ट ५ गतेसम्म हेर्ने हो भने अमेजनका सीईओ जेफ बेजोसले एक पटकमा ४२.८ बिलियन डलर करका रुपमा तिर्नुपर्ने हुन्छ। त्यस्तै तेस्ला र स्पेस एक्सका सीईओ इलोन मस्कले २७.५ बिलियन डलर तिर्नुपर्ने हुन्छ। फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि २२.८ बिलियन डलर तिर्नुपर्ने हुन्छ भने वाल्टन परिवारले १२.९ बिलियन डलर तिर्नुपर्ने हुन्छ। 

महामारीका कारण यो वर्षको अन्त्यसम्म बाँकी रहेको समयमा धनाढ्यहरुको सम्पत्तिमा पार्ने प्रभावले उल्लेखित रकम थपघट हुन सक्छ। – एजेन्सी