काठमाण्डौ । सरकारले अन्तरजिल्ला यातायात र हवाई उडानको सेवा भदौ १६ गतेदेखि मात्र सुचारु गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले यसअघि भदौ १ गतेदेखि नै सुचारु गर्ने भनिएको हवाई उडान र अन्तरजिल्ला यातायात १५ दिनपछि अर्थात भदौ १६ गतेदेखि मात्र खोल्ने निर्णय गरेको हो । 

एक मन्त्रीका अनुसार बैठकले भारतसँग जोडिएका नेपाली सीमाहरुमा थप कडाई गर्ने निर्णय गरेको छ । 

यसअघि साउन ५ गते बसेको मन्त्रीपरिषद बैठकले १२० दिन लामो लकडाउन अन्त गर्दै अन्तरजिल्ला यातायात, हवाई उडान भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । तर, सरकारले बिना तयारी लकडाउन अन्तको घोषणा गरेसँगै कोरोना संक्रमणको दर बढेपछि यसको नियन्त्रणमा जुटेका विभिन्न पक्षहरुको सुझावमा सरकारले लामो दूरीको यातायात र हवाई उडान खोल्ने नयाँ मिति तोकेको हो । 

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको सिफारिसमा यस्तो निर्णय भएको ती मन्त्रीले बिजशालालाई जानकारी दिए । 

यद्यपि सरकारले यो निर्णयको विषयमा औपचारिक जानकारी भने गराएको छैन । भोलि पत्रकार सम्मेलन गरेर आजको क्याबिनेट निर्णयहरुको विषयमा जानकारी गराइने अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिए ।