काठमाण्डौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवा खड्गबहादुर बस्नेतमा निधन भएको ५ दिनपछि कोरोना संक्रमण पुष्टि भएपछि मलामीमा सहभागी ५०० भन्दा बढी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ। 

काठमाण्डौस्थित मनमोहन कार्डियोथोसिक एन्ड भास्कुलर सेन्टरमा उपचारका क्रममा खड्गबहादुरकोगत साउन २२ गते राति निधन भएको थियो। भोलिपल्ट उनको शव अन्त्येष्टिका लागि सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सुनकोशी नदी घाटमा लगिएको थियो।

मलामीमा बाह्रबिसे नगरक्षेत्रका ५०० भन्दा बढी मानिस सहभागी भएका थिए। खड्गबहादुरमा कोरोना पुष्टि भएपछि बाह्रबिसे नगरपालिकाले ती मलामीहरुलाई मंगलबारदेखि होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो। 

हिजो मंगलबार नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकका ८४ वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि भएको जानकारी गराएको थियो। 

अहिले बाह्रविसे नगरक्षेत्रका खाक्दल खोला, राम्चे बजार, कर्थली बुदेपा र सुनकोशीबजारको सिमानासम्म चार किलाभित्रका मानिस आवतजावत गर्न र सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए। 

मेयर शेर्पाले बस्नेत परिवारका सदस्यहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए। ‘यदि बस्नेत परिवारका सदस्यहरुमा पनि पोजेटिभ देखियो भने मलामीसमा सहभागी सबैको कोरोना जाँच हुनेछ’, उनले भने। 

अस्पतालका चिकित्सकहरुले खड्गबहादुरको दुवै मिर्गौलाले काम नगरेका कारण मृत्यु भएको जनाएको परिवार स्रोत बताउँछ। उपचारका लागि उनलाई अस्पताल लैजाँदा सुरुमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ।