काठमाण्डौ । माइक्रोसफ्टले आफ्नो पहिलो एन्ड्रोइड फोन ‘सर्फेस डुओ’ लाई आगामी सेप्टेम्बर १० बाट बजारमा ल्याउने घोषणा गरेको छ।

मोबाइल फोन बजारमा पहिलोपटक प्रवेश गर्न लागेको कम्पनीले सर्फेस डुओको मूल्य १ हजार ३९९ डलर (१ लाख ६७ हजार ७९६ रुपैयाँ) तोकेको छ। यो मूल्य एप्पलको आइफोन ११ म्याक्सको मूल्यबराबर हो। 

विश्लेषकहरुले यो मोबाइल महँगो भएकाले ग्राहकले खरिद गर्नेमा आशंका जनाएका छन्। तर मोबाइलको मूल्य महँगो हुनुमा केही कारण भने छन्। 

सर्वप्रथम यो मोबाइल डुयल स्क्रिन हुनेछ। माइक्रोसफ्टले ब्लग पोस्टमा यो फोनलाई ‘मेजर न्यु फर्म फ्याक्टर’ का रुपमा वर्णन गरेको छ। यो एक फोल्डिङ ट्याबलेटका साथै फोन पनि हो। 

सर्फेस डुओको दुइटा स्क्रिनमध्ये प्रत्येक स्क्रिन ५.६ इन्चको रहेको छ। यसलाई अनफोल्ड गर्दा ट्याबलेटकै जस्तो यसको डिस्प्ले ८.१ इन्चको हुन्छ। यसमा सिंगल क्यामेरा रहेको छ। जसले फोरके भिडियो रेकर्ड गर्न सपोर्ट गर्दछ। 

अर्काेतर्फ माइक्रोसफ्टले यो फोनलाई ‘प्रोडक्टिभिटी डिभाइस’ का रुपमा प्रवद्र्धन गरिरहेको छ। यो फोनमा उच्च प्राविधिक कम्प्युटरले प्रयोग गर्ने अफिस र विन्डोजजस्ता माइक्रोसफ्टका सफ्टवेयरहरु समावेश गरिएका छन्। – एजेन्सी