-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले आगामी भदौ १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि,२०७७ तयार पारेको छ । 

उक्त कार्यविधिले समेटेको कतिपय व्यवस्थाले स्टक डिलरका रुपमा आउन खोजेको कम्पनीलाई नआउँदै सीमा लाग्यो भन्ने टीकाटिप्पणी भइरहेको छ । कार्यविधि लागू हुन अगावै किन यस्तो टिप्पणी भइरहेछ? 

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल स–साना कम्पनीहरुमा डिलरले कर्नरिङ नगरोस् भन्ने हेतूले समेत कार्यविधिमा कडाइ गरिएको हुनसक्ने बताउँछन् । 

'कार्यविधि लागू भएकै छैन, तापनि डिलरले व्यवहारमा उतार्न समय लाग्ने भएकाले केही अप्ठ्याराहरु भए संसोधनका लागि नेप्सेसँग आग्रह गर्न सकिन्छ ।' कार्यकारी निर्देशक नेपाल भन्छन ।

स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतीले स्टक डिलरलाई सेयर खरिदबिक्री गर्न बन्देज र अंकुश लगाउनु उचित नहुने तर्क राखे । 'डिलर र लगानीकर्ता उस्तै हुन् । दुवैमा केही फरक छैन, फरक छ त डिलरले ठूलो सख्यामा सेयर किन्छ त लगानीकर्ताले अलिक थोरै ।' सिजापतीले बिजशालासँग भने-'जुनै सेयर पनि किन्न पाउनुपर्ने हो । केबल सिद्धान्त अनुकुल भएन । कार्यविधिमार्फत् बन्देज लगाएर सुरक्षित र सचेत भएर सेयरमा लगानी गरुन् भन्ने हेतू होला, तर उपभोक्तालाई निर्णय पहिले नै बन्देज लगाइनु किमार्थ सही हैन ।'

पब्लिकको पैसा सुरक्षित होस् भनेर राम्रा कम्पनीमा लगानी गरुन् भन्ने हेतूले कार्यविधिमा सीमा लगाइएको तर्क राख्दै बजार जानकार केशव कोइरालाले अधिकतम सीमा ५० हजार चाहिँ अलिक नसुहाएको बताए । यो सीमाले बजार स्थायीत्व हुँदैन । यति थोरै संख्याले केही असर नगर्ने उनको तर्क छ ।

'कतै डिलर पनि मार्जिन लोनजस्तै असफल प्रडक्ट त बन्ने होइन ?' बजार जानकार दिलीप मुनाकर्मीले प्रश्न तेर्साए । उनी थप्छन्-'बजार सशंकित छ । डिलर अर्को सेतो हात्ती नहोस् ।'

सेयर खेलाडीहरुले खेल्ने भनेकै थोरै पूँजी भएका साना कम्पनी हुन् । ती कम्पनीहरु स्टक डिलरले किनबेच गर्न नपाएपछि स्टक डिलरको कुनै अर्थ नभएको विश्लेषकहरुको भनाइ छ । 

राम्रा कम्पनीका सेयर मूल्यमा खासै तात्विक भिन्नता र उत्तारचढाव नहुने भएकाले विभिन्न शर्तसहित राम्रा कम्पनीहरु मात्र स्टक डिलरले खरिदबिक्री गर्नुपर्ने नेप्सेको कार्यविधि ब्रोकर कम्पनीबाट प्रवाह हुने मार्जिन सेयर कर्जाझैं असफल हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।