काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलोपटक वी च्याट(We Chat)  वालेटको भुक्तानी सेवा भित्र्याएको छ । 

नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । 

उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लिमीटेडसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । 

माछापुच्छ्रे बैंकले फ्रस्ट पे टेक्नोलोजी प्रालिसँगको सहकार्यमा वी च्याट वालेट संचालनमा ल्याइएको प्रष्ट पारेको छ ।  

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमाआधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लिमीटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएसमार्फत अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।