काठमाण्डौ । भदौको पहिलो साता तीन कम्पनीले आइपीओ निष्कासन गर्दैछन् । 

लघुवित्त, बीमा कम्पनी र हाइड्रोपावरका आइपीओहरु भदौको पहिलो साता आउन लागेका हुन् ।

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेबाट रु. ८६ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। 

संस्थाले १ हजार कित्ता अर्थात जारी पुँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गतेसम्म हुने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलगंवामा रहेको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गको लाइसेन्स प्राप्त गरी वि.सं.२०६८ साल फागुन २५ बाट सेवा प्रारम्भ गरेको हो । 

समाज लघुवित्त रिटायर्ड बैंकर्स, सीए, इञ्जिनियर, व्यापारी र शिक्षकद्वारा प्रवद्र्धित कम्पनी हो । लघुवित्तमा अध्यक्षका रुपमा दिलीप कुमार धौबदेल र सीइओ किशोरी महतो छन् ।

लघुवित्तहरुको आइपीओमा सर्वसाधारणको उल्लेख्य उपस्थिति र चार्म देखिन्छ । पछिल्लो समय लघुवित्तको आइपीओ दोस्रो बजारमा सहजै रु.५०० भन्दा माथि बिक्री गर्न सकिने भएकाले लघुवित्तको आइपीओ भनेपछि लगानीकर्ताहरु मरिहत्ते गर्छन् । 

धितोपत्र बोर्डको नियमानुसार समावेशी नीति भएकाले सबैलाई न्यूनतम १०/१० कित्ता बाँडफाँड गरिन्छ । त्यसैले करिब ५ लाख आवेदक पर्ने सम्भावनालाई मध्यनजर गर्दै १० कित्ता मात्र रु.१ हजार रुपैयाँ आवेदन गर्दा नै सही निर्णय हुने देखिन्छ । यो लघुवित्तमा ८० हजार ७०० कित्ता तर आवेदन भने करिब ५ लाख पर्ने भएकाले गोलाप्रथाद्वारा बाँडफाँड हुने सुनिश्चित छ ।

यसैबीच, लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले रु. ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ भदौ ३ गते सर्वसाधारणका लागि निष्कासन गर्दैछ ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँ बराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ७ गते र ढिलामा भदौ १७ गते (बैंकिङ समयपछि) हुनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

लिबर्टी इनर्जी प्रालिको प्रधान कार्यालय काठमाण्डौ कालिकास्थानमा छ । संस्थामा अध्यक्षका रुपमा कुशकुमार जोशी छन् । 

लमजुङ जिल्लाको ढोडेनी गाउँपालिकामा १६ सय किलोवाटको लोदो खोला स्मल हाइड्रोपावर, गूल्मी जिल्लामा २४.६ मेगावाटको बडीगाड खोला हाइड्रोवार, लमजुङ जिल्लामा नै २५ मेगावाट क्षमताको अपर दोर्दी ए हाइड्रोपावर कम्पनीका आयोजनाहरु हुन् ।

पछिल्लो समयमा  झण्डै ३ दर्जना हाइड्रोपावर कम्पनीको सेयरमूल्य दोस्रो बजारमा अंकित मूल्य(रु.१००) भन्दा पनि तल छ । त्यसैको सोझो असर लगानीकर्ताहरुमा समेत परेको कारणले हाइड्रोपावर सेक्टरका आइपीओमा लगानी गर्न खासै उत्साहित नहुने अवस्था आउन सक्छ । तर हालको अवस्थामा सर्वसाधारणसँग प्रशस्त पैसा भएको र पोर्टफोलियोमा विविधिकरण गर्न समेत इच्छुक सर्वसाधारणहरुमध्ये करिब ३ लाख आवेदन पर्ने सम्भावना देखिन्छ । 

यो आवेदनको अनुमानमा ३५ लाख ६४ हजार ९३० कित्तामा न्यूनतम १० कित्ता भन्दा धेरै पर्ने सम्भावना रहन्छ । यसकारण लगानीकर्ताले लिबर्टी इनर्जीको आइपीओमा आवेदन दिन चाहेको खण्डमा २० कित्ता अर्थात् रु. २ हजारमात्र लगानी गर्न उचित हुने देखिन्छ । 

यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रु. ६३ करोड रुपैयाँबराबरको आईपीओ भदौ ४ गतेबाट बिक्री खुला गर्दैछ ।

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। 

कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गते (बैंकिङ समयपछि) हुनेछ।
 
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ। 
 
कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।
 
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ।
 
रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासमा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

रिलायन्स लाइफले वि.सं.२०७४ साल मंसिर १ गतेदेखि कार्य सञ्चालन गरेको हो । यो कम्पनीका देशभर २१ वटा शाखा रहेका छन् । कम्पनीको अध्यक्षमा ताराचन्द केडिया र सीइओका रुपमा प्रविनरमण पराजुली छन्।

कम्पनीले ५६ लाख ७० हजार यो कम्पनीको सेयरमूल्य दोस्रो बजारमा सहजै रु. ५०० माथि नै जाने भएकाले यस कम्पनीको आइपीओ भर्न भने छुटाउँदै नछुटाउनु होला । 

सर्वसाधारणलाई आइपीओमा ५६ लाख ७० हजार कित्ता छुट्याएकाले करिब ५ लाख आवेदकले आवेदन दिएको खण्डमा न्यूनतम १० कित्ता सबैलाई पर्ने सुनिश्चित छ र केही लाख कित्ता सञ्चित रहने हुँदा बाँकी गोलाप्रथाद्वारा बाँडफाँड गर्दा २० कित्ता केही व्यक्तिलाई पर्ने सम्भावना रहनसक्छ ।

यसकारण रिलायन्स लाइफको आइपीओमा न्यूनतम २० कित्ता अर्थात् रु. २ हजार लगानी गर्दा उपयुक्त हुन्छ ।