काठमाण्डौ । विश्वव्याधी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएको छ भने मृत्यदर पनि निकै बढेको सबैमा विदितै छ । एकाध जिल्लालाई छोडेर सवै जिल्लाहरूमा यसको संक्रमण तेज गतिमा बढिरहेको छ। खासगरी काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बा“के, धनुषा, स्याङजा लगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले यसको उच्च जोखिममा छन् भने अन्य जिल्लाहरू पनि आक्रान्त हुंदैछन् । यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्कोतिर  अर्थतन्त्रमा पनि यसले गम्भीर धक्का लागेको छ । 

महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै भएको कुरामा दुईमत छैन । जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू यतिखेर निरन्तर क्रियाशील रहेका छन् । महामारीको यो समयमा सरकारको मात्र भर नपरी सबैका तर्फबाट पनि हाम्रो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका जतिपनि कार्यक्रम, योजना, घोषणा छन् तिनलाई सफल कार्यान्वयनमा लैजान हामी सवैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ,महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता एवं विश्वास दिलाएको बताएको छ । मुलुकभरि नै रहेको आफ्नो संजाललाई संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले चालेका सबै कार्यक्रमहरूमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै महासंघ आफ्ना सबै सदस्यहरूलाई अहिलेको यो अति नै संवेदनशील अवस्थामा सरकारकोमात्र भर नपरी आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न महासंघले आग्रह गरेको छ ।