काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ११९ कोरोना संक्रमित थपिएका छन् । 

थपिएकामध्ये काठमाण्डौका सबैभन्दा बढी ८३ जना रहेका छन् । यस्तै, ललितपुरका ३० र भक्तपुरका थप ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५९४ संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या २५ हजार ५५१ पुगेको छ । 

पछिल्लो २४ घण्टाभित्रमा देशभरबाट २४० संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको हुने संक्रमितको संख्या १७ हजार ७७ पुगेको छ । 

पछिल्लो समय सरकारले पीसीआर टेस्टलाई समेत तीव्र बनाइरहेको छ । जसअनुसार शुक्रबारसम्ममा ४ लाख ९४ हजार ६१३ वटा पीसीआर परीक्षण भइसकेका छन् । पछिल्लो २४ घण्टामा चाहि ११ हजार ५७५ वटा पीसीआर टेस्ट भएका बताइएको छ।