काठमाण्डौ । न्यूयोर्कको बसोबासयुक्त क्षेत्र म्यानहटनका भाडामा सञ्चालित अपार्टमेन्टहरु खालि हुने क्रम उच्च बिन्दुमा पुगेको छ । कोरोनाको त्रासका कारण भाडामा बस्ने मानिसहरुले सहर छोडेपछि त्यहाँका करीब १३ हजार अपार्टमेन्टहरु खालि भएका छन् । अपार्टमेन्टहरु धमाधम खालि हुन थालेपछि अपार्टमेन्टका मालिकहरु भाडामा बस्ने नयाँ ग्राहकहरुको खोजी गर्न थालेका छन् । 

गत वर्षदेखि म्यानहटनमा रहेका अपार्टमेन्टहरुमा भाडामा बस्नेहरुको संख्यामा व्यापक उछाल आइरहेको थियो । भाडाका लागि सूचिकृत भएका करीब १३ हजार ११७ वटा अपार्टमेन्टहरु प्रभावित बनेका छन् । कोरोनाको प्रभावका कारण नयाँ लिजको सम्झौतामा २३ प्रतिशतले कमी आएको छ ।

जुलाई महिनामा यहाँको भाडादरमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको कमी आएको थियो । भाडामा बस्ने मानिस पाउन छाडेपछि मानिसहरुलाई आर्कषित गर्न अहिले अपार्टमेन्ट मालिकहरुले भाडा शुल्कलाई औसतमा १.७ महिना निशुल्क गरिरहेका छन् । 

मार्च र अप्रिल महिनामा कोरोनाभाइरस महामारीको सुरुवात भएसँगै हजारौ हजार मानिसहरुले सहर छोडेपछि दलाल र अपार्टमेन्ट धनीहरुले जुलाई र अगस्ट महिनामा मानिसहरु पुनः सहर फर्किने आशा लिएका थिए । लकडाउन खुकुलो भएसंगै दलालहरु ग्राहकहरुलाई पुनः अपार्टमेन्ट देखाउन सक्ने भएका थिए । अमेरिकी परिवारहरु स्कुलका लागि तयार हुने हुँदा सामान्य रुपमा जुलाई र अगस्ट महिना अपार्टमेन्टको भाडाका लागि व्यस्त महिना हुने गर्दछन् । तर यो वर्ष जुलाई महिनामा अपार्टमेन्ट व्यापारमा संकट नै देखियो । अगस्ट महिनामा पनि अहिलेसम्म सुस्तता नै छाइरहेको छ । यसले म्यानहटनको रियल स्टेट र आर्थिक संकटको मुश्किलहरु अझै बढ्नसक्ने देखिने सिएनएनको समाचारमा उल्लेख छ । 

यतिबेला म्यानहटनमा सहर भित्रिने भन्दा सहर छोडेर बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको कमी भए पनि यहाँका अपार्टमेन्टहरुको मूल्य अझै महंगो नै छ । अहिले दुईवटा बेडरुम भएको अपार्टमेन्टको मूल्य ४ हजार ६२० डलर छ । दलालहरुले १.७ महिनाको निशुल्क भाडा बाहेक ब्रोकर शुल्क, सुरुवाती सरसफाई सेवा र अन्य छुट अफर गरिरहेका छन् । 

अमेरिकाको सबैभन्दा ठूलो अपार्टमेन्ट बजार खालि हुन थालेपछि यसको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने देखिन्छ । हाउजिङ विज्ञहरुका अनुसार म्यानहटनका करीब आधाजसो भाडाका अपार्टमेन्टहरु ठूला रियल स्टेस परिवार र सार्वजनिक कारोबार भएका कम्पनीहरुभन्दा पनि साना व्यावसायिक मालिकहरुको स्वामित्वमा सञ्चालित छन् । यसरी साना अपार्टमेन्ट धनीहरुले आम्दानी गुमाए भने, उनीहरु कर तिर्न अमसर्थ हुने देखिन्छ । प्रोपर्टी कर न्युयोर्कको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । प्रोपर्टी करमा गिरावट आएपछि त्यहाँको सेवासुविधामा कटौति गरिनेछ । जसका कारण बसोबासका लागि न्युयोर्क कम आर्कषक हुनेछ ।

अमेरिकामा जस्तै अपार्टमेन्ट खालि हुने र घरका कोठा समेत खालि हुने क्रम काठमाण्डौमा पनि बढिरहेको छ । काठमाण्डौका मानिसहरु पनि कोरोनाबाट सुरक्षित हुन भन्दै गाउँतर्फ लागेपछि अहिले यो क्षेत्रमा समेत सटर तथा कोठा खालि हुने, ठूलो मलहरुकै सटर खालि हुने समस्या तीव्र रुपमा बढिरहेको देखिन्छ ।