काठमाण्डौ । अब लगानीकर्ताले अनलाइन युजर आईडी र पासवर्ड लिन ब्रोकर कार्यालय नगई अनलाइनबाटै पाउने भएका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन कारोबार प्रयोजनका लागि लगानीकर्ता र ब्रोकरबीच हुने सम्झौता अनलाइन माध्यमबाटै गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको हो। कोरोनाभाइरसको संक्रमण पछिल्लो समय ह्वात्तै बढेको र बुधबार रातिदेखि निषेधाज्ञा नै जारी हुने भएकाले अनलाइन  युजर आईडी र पासवर्ड लिन लगानीकर्ता ब्रोकर कार्यालयसम्म नधाई अनलाइनबाट लगइन दिन ब्रोकरहरुलाई निर्देशन दिइएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले जानकारी दिए।

नेप्सेले ब्रोकरहरुलाई निर्देशन दिएकोले अब लगानीकर्ताहरुले अनलाइन युजर र आईडी पाउनका लागि ब्रोकर कार्यालय धाउन नपर्ने भएको छ।

अनामनगरस्थित स्टक ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुराज ओझाले यही साताभित्र आफ्नो वेबसाइटबाटै लगानीकर्ताले अनलाइन युजर लगइन लिन सक्ने जानकारी दिए।