काठमाण्डौ । वर्ल्ड लिंक कम्युनिकेसनले निकट भविष्यमै सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । 

वर्ल्ड लिंकको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वर्ल्ड लिंकका संचालक दिलीप अग्रवालले यस्तो जानकारी दिएका हुन् । 

‘हामी सर्वसाधारणका लागि आइपीओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं ।’ अग्रवालले भने–‘यसैको तयारी स्वरुप गत वर्ष हामीले कम्पनीलाई पब्लिक लिमीटेडमा दर्ता गरेका थियौं । अब बाँकी प्रक्रियाहरु अगाडि बढाउनेछौ ।’ 

अग्रवालले अहिले सुरु गरिएको प्रक्रिया पूरा भई आइपीओ निश्कासन हुने अवस्था बन्दासम्म ३ वर्ष समय लाग्नसक्ने समेत प्रष्ट्याए । 

हाल वर्ल्ड लिंकको सेवा देशका ७४ जिल्लामा पुगिसकेको छ । इन्टरनेट प्रदायक कम्पनीहरुमा नेतृत्वदायी भूमिका खेलिरहेको वर्ल्ड लिंकका देशभर ४ लाख बढी घरेलु ग्राहक रहेका छन् । यो कम्पनी उच्च नाफा कमाइरहेको कम्पनी पनि हो ।