काठमाण्डौ । सरकारले आन्तरिक रुपमा गरिएका निषेधाज्ञाहरु खुकुलो बनाई सीमा क्षेत्रको प्रतिबन्धलाई भने कायमै राख्ने निर्णय गरेको छ । 

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

यसअघि अन्तराष्टिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । यो निर्णयलाई एक महिना लम्ब्याई असोज ३० गते शुक्रबार मध्यरातिसम्म कायम गरिएको छ । 

अन्तराष्टिय सीमा नाका बन्द एक महिना थप गरिए पनि समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्किन सहज होस् भनेर भारतसँग जोडिएका थप २ नाकामा समेत सो सुविधा थपिएको छ । यसअघि १० वटा भारतीय सीमा नाकाबाट समस्या परेका नेपालाई उद्धार गरी स्वदेश फर्काइने भनिएको थियो । अब भने इलामको पशुपति नगर र दार्चुलाको खलंगापुलघाट नाकाबाट पनि समस्यामा परेका नेपालीहरु स्वदेश फर्किन सक्नेछन् । 

यसैगरी, सरकारले चीनसँग जोडिएको रसूवागढी प्रवेश विन्दूबाट पनि समस्या परेका नेपालीलाई घर आउन सहजीकरण गर्ने निर्णय गरेको छ ।