काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले कोरोना महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी इ-टेलर सेवा संचालनमा ल्याएको छ । 

इ-टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

यो सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका बैंकले जनाएको छ । 

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले इ-टेलर सेवा संचालनमा ल्याइएको प्रष्ट पारेको छ । 

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।