काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । 

शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले कोरोना भाइरसको संक्रमण बढिरहेको र ठूला चाडपर्व पनि आउन लागेकोले मंसिरमा मात्रै साधारणसभा गर्ने निर्णय गरेको हो । 

पदाधिकारीको यो निर्णय एक सातापछि बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । 

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले चैत ११ गतेदेखि लकडाउन लगाएको थियो । यहीकारणले चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा स्थगित गरिएको थियो । 

पछिल्लो समय महासंघले संभावित साधारणसभा र निर्वाचनको मोडालिटीको विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो । कार्यदलले तीन खालका मोडल पदाधिकारीहरुसमक्ष पेश गरेको थियो । त्यसैको आधारमा आजको बैठकले मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

यसअघि विभिन्न मितिमा साधारणसभाको मिति सारिँदा त्यसको विरोध गरिरहेको किशोर प्रधान समूहलाई संचालन गरिरहेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समूह शुक्रबारको बैठकमा साधारणसभा मंसिरमा गर्न सहमत भएको हो । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल समूहले भने असहज परिस्थितिमा साधारणसभा गर्न हतारिन नहुने स्पष्ट मत राख्दै आएको छ ।