काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले रु. ४ अर्बको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

यो बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले प्रति इकाई १ हजार दरका ४० लाख युनिट ऋणपत्र निश्कासन गर्न चाहेको हो । कुल निश्कासन हुने युनिटमध्ये १६ लाख युनिट पब्लिक इस्यूको रुपमा र २४ लाख युनिट प्राइभेट प्लेसमेन्टको रुपमा आउनेछ । 

'८.५% सेभेन इयर्स, नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४' नाम रहेको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमीटेड रहनेछ । 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछ । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ । 

नेपाल राष्ट्रबैंकले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासन गरी लामो अवधिको स्रोत जुटाउन र लामो अवधिको लोन र छोटो अवधिको निक्षेपका कारण भइरहेको मिसम्याच न्यून गर्ने व्यवस्था गरेसँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।