काठमाण्डौ । मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधिमध्ये को रहने भन्ने विवाद छताछुल्ल भइरहेका बेला सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र ‘प्रोटोकल विवादले उग्र रूप लिन थालेको छ। स्थानीय तहको निर्वाचनमा केन्द्रदेखि गाउँ तहसम्म नै एकताबद्ध भएर निर्वाचनमा होमिने रणनीतिमा लागेको कांग्रेसमा अहिले प्रोटोकल विवादले आन्तरिक गुट–उपगुटलाई अझ मलजल गर्न थालेको छ। 

प्रोटोकलको विषयलाई लिएर केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले हालै सम्पन्न केन्द्रीय समितिले गठन गरेको अनुशासन समितिको संयोजक पदलाई अस्वीकार गर्नुभएको छ। वरिष्ठताको आधारमा गठन गरिएको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा आफू छैटौं नम्बरमा परेको भन्दै श्रेष्ठले अनुशासन समितिको संयोजक पद अस्वीकार गर्नुभएको हो।

पार्टीको आचारसंहिता पालना गराउन र अनुशासन कायम राख्न विधानअनुसार गठन गरिएको समितिले पार्टी अनुशासन उल्लंघन गर्ने सदस्य र पदाधिकारीलाई ६ महिनासम्म निलम्बन तथा तीन वर्षसम्म निष्काशन गर्ने अधिकार रहन्छ। कार्यसम्पादन समितिमा आफू नपरेको भन्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि चर्को असन्तुष्टि व्यक्त गरिसक्नुभएको छ।

पार्टीभित्र प्रोटोकल विवादले उग्ररूप लिएपछि सभापति देउवाले विवाद मिलाउन आन्तरिक रूपमा नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आनन्द ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य रहेको समिति गठन गर्नुभएको छ। तर, सो समितिले पनि विवाद मिलाउन सकेको छैन। आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा अन्तरघात हुने सम्भावनालाई गम्भीरताका साथ लिएको बताएको भए पनि केन्द्रमै प्रोटोकल विवाद मिलाउन नसक्दा अन्तरघातलाई प्रश्रय मिल्ने असन्तुष्ट नेताहरूले बताउँदै आएका छन्। गत संविधानसभा निर्वाचनमा अन्तरघात भएकै कारण कतिपय स्थानमा पराजित भोगेको कांग्रेसले अन्तरघात नभए स्थानीय तहको निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आँकलन गरेको छ।

स्थानीय निर्वाचनले केन्द्रीय तथा प्रदेशको निर्वाचनलाई समेत प्रभाव पार्ने भएकाले यो निर्वाचनमा जसरी पनि जित्नैपर्ने बताउँदै आएको कांग्रेसभित्रको विवादले निर्वाचनमा असर पर्ने देखिन्छ।

स्थानीय निर्वाचनमा अन्तरघात हटाउन कार्यसम्पादन समिति, अनुशासन समितिलगायत विभिन्न समिति गठन गर्नुका साथै उम्मेदवार छनोटको जिम्मेवारी समेत एकाइ, क्षेत्र तथा जिल्ला तहसम्मलाई दिएको कांग्रेसभित्रको प्रोटोकल विवादको असर गाउँ तहसम्म पुग्ने अनुमान गरिएको छ। ‘मलाई हाल कायम गरिएको प्रोटोकल मान्य छैन, नेता श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मलाई पूर्वमहामन्त्रीभन्दा तल राखिएको छ।

पदाधिकारीपछि केन्द्रीय सदस्यमा वरिष्ठताको एक नम्बरमा राख्नुपर्ने आफ्नो माग रहेको बताउँदै उहाँले सभापतिले यो प्रोटोकल विवाद नमिलाएसम्म अनुशासन समितिको संयोजक नस्वीकार्ने बताउनुभयो। म पार्टी फुट्दा उपसभापति र कार्यवाहक सभापति भइसकेको व्यक्ति कसरी छैटौं नम्बरमा परें भन्दै उहाँले प्रोटोकल विवाद नमिलेसम्म आफूले अनुशासन समितिको जिम्मेवारी नलिने उहाँको भनाइ थियो। नेता श्रेष्ठले सभापति देउवालाई भन्नुभएको छ– ‘मलाई कि उपसभापतिमा मनोनित गर्नुस् कि पदाधिकारी पछि एक नम्बरमा राख्नुस्।

कांग्रेसले स्थानीय निर्वाचनलाई ध्यानमा राखेर नै कार्यसम्पादन समिति गठन गरेको बताइएको छ। केन्द्रीय समितिमा छलफल गरेर निर्णय लिँदा धेरै केन्द्रीय सदस्यको एजेन्डालाई ध्यान दिनुपर्ने भएकाले सानो संख्यामा रहेको कार्यसम्पादन समिति गठन गरेपछि एजेन्डा तय गर्न र निर्णय लिन सजिलो हुने बताइन्छ।

कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्ने काम गर्नेछ। विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिले आफ्नो कामको विवरण कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गराउनुपर्ने रहेको छ।

तेह्रौं महाधिवेशनपछि कांग्रेसभित्र सभापति देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट हाबी छ। साथै केही प्रभावशाली नेताहरूको छुट्टै उपगुट पनि छ। गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर स्थानीय निर्वाचनमा होमिने संकेत स्वरूप निर्वाचन परिचालन समितिको संयोजकमा पौडेल तथा स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पनि पौडेल पक्षकै महेश आचार्यलाई राखिएको छ।

सिटौलालाई पनि सभापति देउवाले अन्य दलहरूसँग वार्ता र छलफल गर्ने जिम्मेवारी दिनुका साथै पार्टीको महत्त्वपूर्ण निर्णयमा सल्लाह सुझाव लिँदै आउनुभएको छ। तर देउवा पक्षकै नेता श्रेष्ठ तथा विमलेन्द्र निधिले सभापतिको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ।

कांग्रेसभित्र प्रोटोकल विवाद बढिरहेको र गुट–उपगुटको अन्त्य नभएकाले स्थानीय निर्वाचनमा अन्तरघातको सम्भावना कत्तिको हुन्छ भन्ने बारेमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडु भन्नुहुन्छ– ‘यसपटक अन्तरघातको सम्भावना हँुदैन।

स्तानीयस्तरबाटै उम्मेदवार छनोट हुने र उम्मेदवार लोकप्रिय, सक्षम, विवादरहित र चुनाव जित्न सक्ने छनोट हुने हँुदा विगतको जस्तो अन्तरघात यसपटक नहुने उहाँको भनाइ थियो। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।