काठमाण्डौ । लामो समयको विवादपछि नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृह मन्त्रालयले अनुमति दिएको छ । 

साधारणसभाको विषयलाई लिएर उद्योग वाणिज्य महासंघमा लामो समयसम्म आन्तरिक विवाद चलेको थियो । ती विवादहरुलाई समाधान गर्दै साधारणसभा र चुनावको मोडालिटी तयार गर्न एक कार्यदल गठन गरिएको थियो । कार्यदलले सुझाएका उपायहरुमध्ये कुनै एक विकल्प अपनाएर मंसिर ११ र १२ गते साधारणसभा र चुनाव गर्ने महासंघको सचिवालयले निर्णय गरेको थियो । सो निर्णयका लागि सरकारको अनुमति चाहिने भएकोले गृहसँग अनुमति मागिएको र त्यहाँबाट सुरक्षाका सबै मापदण्ड अपनाएर साधारणसभा अनुमति आएको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । 

गृहबाट अनुमति आएसँगै अब केही दिनभित्रै कार्यसमितिको बैठक बस्ने र त्यसले साधारणसभाको दिन तोक्ने उनले जानकारी दिएका छन्। 

गृहले विद्युतीय माध्यमबाट निर्वाचत र साधारणसभा गर्न सुझाउँदै एकपटकमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका मापदण्ड अपनाउन समेत आग्रह गरेको छ। 

चुनावलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा कार्यसमितिको बैठकले थप निक्र्यौल गर्ने बताइएको छ । 

महासंघका साधारणसभा तथा निर्वाचन चैतमै हुनुपर्ने थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण लकडाउन लागेकोले पटक पटक त्यसको मिति सारिएको थियो । मिति सार्ने विषयमा पनि चुनावी माहौलमा होमिएका पक्षहरुबीच आरोपप्रत्यारोप चलेको थियो ।