काठमाण्डौ । लगानीकर्ताहरुको अस्थिर प्रवृतिको असर सेयर बजारमा देखिन थालेको छ । सानो कुराबाट अत्तालिने वा उत्साहित हुने प्रवृतिले आइतबार उछालको लयमा कुदेको बजार सोमबार तीव्र करेक्सनको मोडमा दौडियो । फलस्वरुप नेप्से परिसूचक १७.९४ अंकले घटेर १६७५.७८ अंकमा आइपुग्यो भने कारोबार रकम समेत घटेर ९६ करोड ५२ लाखमा झर्यो । 

सोमबार उत्पादनमूलक समूहको सूचकमा झिनो वृद्धि देखिए पनि बाँकी सबै समूहमा रातो पोतियो । आइतबारको हराभरा बजार २४ घण्टा नबित्दै निराशामय बन्यो । 

सोमबार वाणिज्य बैंक, होटल र जलविद्युत समूहले धेरै गिरावट व्यहोरे । वाणिज्य बैंक समूह  १९.१७ अंक(१.२२ प्रतिशत), होटल २३.३ अंक(१.०६प्रतिशत) र जलविद्युत समूह २२.४४ अंक(१.११ प्रतिशत)ले घटे । विकास बैंकमा १४.३, बित्त समूहमा ४.२, बिमामा ८३.७४ र अन्यमा ८.६७ अंकको गिरावट आयो । उत्पादनमूलक भने ०.२३ अंकले बढ्यो ।

‘क’ वर्गका कम्पनीको सेयरमा आकर्षण घटेपछि सेन्सेटिभ इण्डेक्स ४.६५ अंकले घट्यो भने फ्लोट इण्डेक्समा १.५४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ४२ कम्पनीका कुल १६ लाख २६ हजार ४ सय ३१ कित्ता सेयर ९६ करोड ५२ लाख ३ हजार २ सय ८४ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड १६ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभूू बैंकले ३ करोड ९५ लाख, ग्लोबल आइएमई बैंकले ३ करोड ८३ लाख, सिद्धार्थ बैंकले ३ करोड ७७ लाख, यूनाइटेड इन्स्योरेन्सले ३ करोड ७० लाख बढीको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी र ४ स्थान वाणिज्य बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार करेक्सन भए पनि ३ कम्पनीले पैसा छापे । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको साधारण र संस्थापक सेयरकै मूल्यमा सोमबार पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाए भने हाम्रो विकास बैंकको सेयर मूल्यमा समेत १० प्रतिशतकै हाराहारीमा वृद्धि देखियो । माउण्ट मकालुु डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

सोमबार दिव्यश्वरी जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो । यूनाइटेड फाइनान्सको सेयर मूल्यमा पनि ७ प्रतिशतकै हाराहारीले गिरावट आयो ।