काठमाण्डौ । अप्रील २८ मा रिलिज भएको निर्देशक एसएस राजमौलीको फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ले बक्स अफिसमा धमाका मच्चाइदिएको छ । बीबीसी हिन्दीका अनुसार ‘बाहुबली २’, ‘बाहुबली : द बिगिनिङ’को सिक्वेल हो, जुन फिल्म सन् २०१५ मा रिलिज भएको थियो ।

‘बाहुबली–२’ मा प्रभास, राण दग्गुबती, अनेष्का शेठ्ठी, तमन्ना भाटिया र राम्या कृष्णामूर्ति लगायतले काम गरेका छन् ।

रिपोर्टका अनुसार मात्र ४ दिनमा यो फिल्मले कयौं रेकर्डहरु बनाई सबैलाई पछाडि पारिदिएको छ।

१. ‘बाहुबली–२’ को हिन्दी संस्करणले पहिलो दिन नै पूरा भारतभर ४१ करोड रुपैयाँ कमाएको छ । जुन कमाई अमिर खानको दंगल र सलमान खानको सुल्तानको  पहिलो दिनको कलेक्सन भन्दा बढी हो । पहिलो दिन दंगलले २९ करोड र सुल्तानले ३६ करोड कमाएका थिए ।

२.‘बाहुबली–२’ भारतभरका ८ हजार स्क्रीनमा एकसाथ रिलिज भयो, जसमा हिन्दीसँगै तमिल, तेलेगु, मलयालम भाषा समेत सामेल छन् । यसअघि अमिर खानको फिल्म दंगलले एकसाथ ६ हजार स्क्रिनमा रिलिज भई रेकर्ड बनाएको थियो ।

३.फिल्म व्यापार विशेषज्ञ तरन आदर्शका अनुसार ‘बाहुबली–२’ ले पहिलो दिन नै १ सय करोडको आँकडा पार गरेको छ । पहिलो दिन नै यो फिल्मको कुल कमाई १ सय २१ करोड भारु रह्यो । यो कमाईमा हिन्दी संस्करणबाट ४१ करोड तथा तमिल, तेलेगु र मलयालम संस्करणबाट ८० करोड रहेको छ । यो फिल्म भारतकै पहिलो फिल्म बनेको छ, जसले पहिलो दिन नै १ सय करोड माथि कमाई गर्न सफल भयो ।

४.तरन आर्दशका अनुसार ‘बाहुबली–२’ ले पहिलो दिन नै अमेरिकामा मात्रै ६५ करोड बढीको व्यापार गरेको छ । यो रकम भारतीय फिल्मका लागि निकै ठूलो हो ।

५.करण जोहर तथा धर्मा प्रोडक्सको अनुमान अनुसार ‘बाहुबली–२’ ले तीन दिनको अवधिमा ३ सय करोड कमाएको छ । जसमा हिन्दी संस्करणको योगदान १ सय २८ करोड रहेको छ भने तमील, तेलेगु र मलयालमको १७५ करोड रहेको छ ।

६.भारतमा प्राय सोमबार हरेक फिल्मको कमाई घट्ने गर्छ । तर चौथो दिन सोमबार पनि ‘बाहुबली–२’ ले ४०.२५ करोड कमाउने सफलता  प्राप्त गरी नयाँ रेकर्ड बनाएको छ । धर्मा प्रोडक्सका अनुसार यो समेत गरी ‘बाहुबली–२’ को हिन्दी संस्करणको कमाई मात्र १ सय ६८ करोड माथि पुगिसकेको छ ।

‘बाहुबली–२’ को रिलिजअघि २०१५ मै बनेको ‘बाहुबली–१’ रि–रिलिज गरिएको थियो । रि–रिलिज भएको फिल्मले समेत करिब ३ करोड कमाएको छ । मिडिया रिपोर्टका अनुसार ३ करोड रुपैयाँ आम्दानी कुनै पनि रि–रिलिज फिल्मका लागि निकै ठूलो कमाई हो ।