काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारण लगानीकर्तालाई लगानीको राम्रो अवसर घोषणा गरेको छ । केन्द्रीय बैंकले वार्षिक ८.५० प्रतिशत ब्याज पाउने गरी ५ अर्बको बचतपत्र निश्कासनको घोषणा गरेको हो ।

पाँच वर्षे अवधिको बचतपत्रको बिक्री बैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म खुल्ला हुनेछ । यो अवधिमा बचतपत्रमा नेपाली नागरिकहरुले मात्र खरीदको आवेदन दिन सक्नेछन् ।

थोरैमा १० हजार रुपैयाँ र बढीमा कुल निश्कासित रकमको सीमामा नबढाई रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबरको लगानी गर्न सकिनेछ ।

‘नागरिक बचतपत्र २०७९’ नाम दिइएको यो योजनामा लगानीकर्ताले प्रत्येक ६ महिनामा ब्याजको भुक्तानी पाउने नेपाल राष्ट्रबैंकले जनाएको छ । यस्तो बचतपत्र धितो राखेर  बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत पाइने भएकोले पैसा हुने र लामो समयका लागि निश्चित ब्याजदरमा पैसा लगानी गर्न चाहनेहरुका लागि राम्रो अवसर हुनसक्छ ।

बचतपत्रको निश्कासन जेठ १९ गते हुनेछ भने साँवा भुक्तानी २०७९ जेठ १९ गते हुनेछ ।

केन्द्रीय बैंकको सूचना अनुसार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा बित्तीय संस्थाका कार्यालयहरु, नेपाल राष्ट्रबैंकका काठमाण्डौ बाहिरका कार्यालयहरुबाट आवेदन फारम भर्न सकिनेछ । नेपाल राष्ट्रबैंकको वेबसाइटबाट फारम डाउनलोड गरेर समेत बचतपत्र खरीदका लागि आवेदन दिनसकिने व्यवस्था मिलाइएको छ । जहाँबाट फारम लिइयो, तिनै ठाउँमा बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने र त्यसको व्यहोरा आवेदनमा खुलाउनुपर्ने भनिएको छ । नखुलाइएको आवेदकलाई प्रमिशरी नोटको प्रमाणपत्र उपलब्ध गराइनेछ ।