काठमाण्डौ । तथ्यांकमा देखिएको गडबडीको कारण देखाउँदै शुक्रबार हुने भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँड एकाएक रोकिएको छ । पहिला बिहीबार नै बाँडफाँड हुने सूचना सार्वजनिक गरेको बिक्री प्रबन्धकले त्यसपछि शुक्रबार बाँडफाँड हुने बताए पनि अन्तिम अवस्थामा आएर यो दिन समेत हुन नसकेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराएको हो ।

एफपीओमा पैसा हालेर बसेका लगानीकर्ताहरु व्यग्रताका साथ बिहीबार र शुक्रबारको प्रतिक्षामा थिए । धितोपत्र बोर्डले पनि एफपीओमा ठूलो रकम अड्किएको भन्दै यसको बाँडफाँड बैशाख २२ गतेभित्र सकिसक्न निर्देशन दिएको थियो । तर, प्राविधिक त्रूटिको कारण देखाउँदै एफपीओको बाँडफाँड रोकिँदा बोर्डको कडा निर्देशन अर्थहीन बन्न पुगेको छ भने अन्तिम अवस्थामा एफपीओमा परेको आवेदन रकम र संख्यामा भएको रातारातको अचाक्ली बढोत्तरीको शंकास्पद घटनाकै कारण तथ्यांकमा गडबडी भएको देखिएको छ ।

यस्तो थियो शंकास्पद घटना
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १२ सय ९० प्रतिकित्ता प्रिमियम मूल्यमा कुल  २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ बिक्रीका लागि निश्कासन गरेको थियो । बैंकले चैत १ गतेदेखि ४ गतेसम्म एफपीओ निश्कासन गरेको थियो । एफपीओमा हरेक दिन परेको आवेदनको बिजशालाले निरन्तर फलोअप गरेको थियो । सो क्रममा चैत ४ गते शुक्रबार(अन्तिम) दिनसम्म परेको आवेदनको बिषयमा बिक्री प्रबन्धको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडका सीइओ श्रीजेश घिमिरेले बिजशालासँग राति १० बजे कुरा गर्दै स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा देशभरका संकलन केन्द्र(आस्वा र ननआस्वा)बाट १ लाख ८३ हजार आवेदनहरु परेका र कुल २९ अर्ब बराबरको प्रस्ताव परेको बताएका थिए । यो तथ्यांकमा फाइनल हुँदा एकदुई करोड रकम थपघट हुनसक्ने उनले बताएका थिए । त्यसबेला उनले बिजशालासँग भनेका थिए–‘२९ अर्बको हाराहारीमा प्रस्ताव पर्यो भनेर हामीले भर्खरै धितोपत्र बोर्डलाई रिपोर्ट दिएका छौ ।’ उनले बिजशालासँग गरेको टेलिफोन कुराकानीको रेकर्ड हामीसँग सुरक्षित छ ।

तर, स्ट्याण्डर्ड चार्टर्डको एफपीओको बिषयमा भोलिदेखि नै फरक तथ्यांक बाहिर आउन थाल्यो । चार दिनपछि बाहिर ल्याइएको तथ्यांक अनुसार त एफपीओमा देशभरका २ लाख २५ हजार बढीले ३८ अर्ब २० करोड ९४ लाखको हाराहारीमा आवेदन दिएका पो भनियो, हालसम्म यही तथ्यांकलाई सदर मानिएको छ । अन्तिम दिनसम्म २९ अर्बको हाराहारीमा मात्र परेको आवेदनमा एकदुई दिनमा थप ९ अर्ब कहाँबाट थपियो ? ४२ हजार आवेदक रातारात कसरी थपिए ? धेरै लगानीकर्ताले यो कुरा बुझ्न सकेका छैनन् । यो बिषयमा बिक्री प्रबन्धकले न अहिलेसम्म स्पष्ट पार्न आवश्यक ठानेको छ, न त बोर्डले नै खोजबिन गर्ने तदारुकता देखाएको छ । धेरैको अनुमानमा स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा केही संस्थागत लगानीकर्ताहरुले सबै पक्षलाई सेटिङमा ल्याएर रातारात राम्रै गडबड गरेका हुनसक्छन् ।

स्वयम् बिक्री प्रबन्धकको काम गर्ने एनएमबी क्यापिटलका एक कर्मचारीले नै बिजशालासँग कुरा गर्दै रातारात एफपीओमा परेको आवेदन रकममा ९ अर्ब थपिएकोमा आश्चर्य प्रकट गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले बिजशालासँग भने–‘स्ट्याण्डर्डको एफपीओमा ठूलै गडबडी भएको छ । साना लगानीकर्तालाई बेवकुफ बनाएर ठूलाले राम्रै लाभ लिन खोजेका छन् ।’

ती कर्मचारीका अनुसार रातारात थपिएको ९ अर्बको आवेदनकै कारण अन्तिम अवस्थामा तथ्यांकमा गडबडी देखिएको हो । ‘धितोपत्र बोर्ड र अन्य नियामकले स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा भएको फट्याईको बिषयमा छानबिन गर्नुपर्छ ।’ ती कर्मचारीले भने–‘बोर्डले पनि यो बिषयमा चासो दिएन भने बुझ्नुहोस् भागबण्डा सबैतिर पुगिसकेछ भनेर ।’

त्यसो त स्ट्याण्डर्ड चार्टर्ड बैंकको बिषयमा धितोपत्र बोर्ड पहिलादेखि नै निकै लचक देखिदै आएको छ । एफपीओको प्रिमियम मूल्य आफैंले तोकेर सार्वजनिक गर्दा नेपाल लाइफलाई कारबाही गरेको बोर्डले त्यही काम गर्दा स्ट्याण्डर्डलाई भने क्षमादान दियो । अन्य कम्पनीको एफपीओ निश्कासन महिनौदेखि पाइपलाइनमा अड्किदा  आवेदन दिएको छोटो समयमै उच्च  प्राथमिकतामा राखी स्ट्याण्डर्डलाई एफपीओ बिक्रीको हतार हतार अनुमति दियो । लामो समयदेखि स्ट्याण्डर्डप्रतिको बोर्डका अधिकारीमा देखिएको मोहका कारण एफपीओको तथ्यांक हेरफेरमा समेत गडबडी भएन होला भन्न सकिन्न ।

कहिले हुन्छ बाँडफाँड ?
तथ्यांकमा आएको त्रुटिका कारण शुक्रबार बाँडफाँड हुन नसके पनि आइतबार चाहि हुने बिक्री प्रबन्ध एनएमबी क्यापिटलका अधिकारीहरुले बताएका छन् । आस्वाबाट सेयर आवेदन संकलन गरी बिक्री प्रबन्धक एनएमबी क्यापिटल तथा धितोपत्र बोर्डमा तथ्यांक पठाउने क्रममा केही संस्थाको तथ्यांक फरक परेका कारण यस्तो भएको बिक्री प्रबन्धकले दाबी गरिरहेको छ । २२ गतेसम्म बाँडफाँड गर्नैपर्ने उर्दी लगाउने बोर्ड समेत बिक्री प्रबन्धकको यही दाबीलाई चूप बस्नुले पनि केही न केही गडबड छ भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।