काठमाण्डौ । मध्य भोटेकोशी हाइड्रोपावर कम्पनी लिमीटेडले निकट भविष्यमा तीन चरणमा गरी २ अर्ब ९४ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ ।

यो कम्पनीले पहिलो चरणमा, १ करोड १७ लाख कित्ता आइपीओ कर्मचारी सञ्चय कोषका सदस्य, २१ लाख कित्ता प्रोमोटर कम्पनीका कर्मचारीहरु र ६ लाख कित्ता ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीका लागि निश्कासन गर्नेछ ।

यस्तै, दोश्रो चरणमा कम्पनीले ६० लाख कित्ता आइपीओ सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गर्नेछ ।

तेश्रो तथा अन्तिम चरणमा यो कम्पनीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणहरुका लागि निश्कासन गर्ने योजना बनाएको छ ।

तीन चरणमा निश्कासन गर्ने आइपीओको निश्कासन तथा बिक्रीको कामलाई चुस्त दुरुस्त बनाउन यो कम्पनीले बिहीबार ७ वटा मर्चेन्ट बैंकहरुलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । भोटेकोशीको आइपीओको मुख्य बिक्री प्रबन्धकमा ग्लोबलल आइएमई क्यापिटल लिमीटेड नियुक्त भएको छ भने सहायक बिक्री प्रबन्धकहरुमा प्रभू क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएका छन् ।

मध्यभोटेकोशी हाइड्रोपावर चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो । यो कम्पनीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गर्न लागिरहेको छ । मध्यभोटेकोशीमा चिलिमे हाइड्रोपावर, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रालि, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी र सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि मेजर प्रोमोटर सेयरहोल्डर रहेका छन् । यिनीहरुको मात्र कम्पनीमा ५१ प्रतिशत सेयर होल्डिङ छ ।