काठमाण्डौ । निकै ठूलो विवाद, लफडा र खेलोफड्कोका कारण बिक्री प्रबन्धक आफैंले गरेको घोषणा भन्दा ४ दिनपछि बाँडफाँड भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा साना लगानीकर्ताले भाग्यको भर पर्नुपरेको छ । 

ठूलाले निश्चित प्रतिशत पाए पनि थोरै पूँजी हुने लगानीकर्ताको बाँडफाँडको नतिजाका लागि भने गोलाप्रथा गरिएको थियो । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १० कित्तादेखि १४० कित्तासम्म लगानी गर्नेले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । १५० र १६० कित्तासम्ममा आवेदन दिनेलाई १० कित्ताको दरले सेयर बाँडिएको छ भने १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर बाँडिएको छ । 

यो हिसाबले १७० कित्ता आवेदन दिनेले ११ कित्ता र सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिनेले १६३० कित्ता सेयर प्राप्त गरेका छन् । १६३० कित्ताको दरले ९९ जनाले सेयर पाएका छन् । यसको अर्थ, यो बैंकको एफपीओमा पनि पैसावाल ९९ जनाकै हालीमुहाली चलेको देखिएको छ । 

यो बैंकले प्रिमियमसहित १२९० प्रति कित्ताको दरले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गरेको थियो । देशभरका २ लाख २५ हजार बढीले ३८ अर्ब २० करोड बढीको आवेदन दिएका थिए ।

यो बैंकको एफपीओमा परेको रकम तथा आवेदनहरु रातारात बढाइएको आशंका गरिएको थियो । ठूला लगानीकर्तालाई रातारात सेटिंगमा ल्याइएको र यसले साना लगानीकर्ता यो पटक पनि शहीद बन्ने अवस्थाको बिषयमा बिजशालाले यसअघि यस्तो समाचार प्रकाशन गरेको थियो ।

हेर्नुहोस् यो समाचार :

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा शंकास्पद खेल, रातारात बढाइएको ९ अर्बले गडबडी !