काठमाण्डौ । पुरानो महानगरपालिका काठमाण्डौपछि स्थानीय निर्वाचनमा नयाँ महानगरपालिका भरतपुरको निकै ठूलो चर्चा छ । चर्चाको कारण हो, यहाँ प्रधानमन्त्री प्रचण्डकी सुपुत्री रेणु दाहाल चुनावी मैदानमा हुनुु । अर्को कारण हो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डको चुनावी तालमेलको भविष्य तथा यो क्षेत्रको चुनावी परिणामलाई ठूला तीन दलले आफ्नो प्रतिष्ठासँग जोडेर हेर्नु । चर्चाको शिखरमा रहेको भरतपुरमा कांग्रेस र माओवादीले तालमेल गरी मेयरमा माओवादीबाट प्रचण्डपुत्री रेणुु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उठेका थिए । हालसम्म जारी मतगणना अनुसार प्रचण्डपुत्री दाहाललाई गठबन्धनको दल नेपाली कांग्रेसकै कार्यकर्ता र समर्थकबाट कदम कदममा घात भएको देखिएको छ । रेणुुले कतिपय ठाउँबाट त माओवादीकै भोट समेत पाएकी छैनन् । 

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले ९२१२ मत ल्याएका छन् भने रेणु दाहालले ७४३३ मतसहित पछ्याइरहेकी छिन् । तर गठबन्धनकै तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएकी कांग्रेसकी पार्वती शाहले भने रेणुुको भन्दा १२ बढी मत पाएकी छिन् । यसको सोझो अर्थ स्पष्ट छ-अहिलेसम्मको मतगणना अनुसार पनि रेणुुलाई १२ सय बढी कांग्रेस कार्यकर्ता तथा समर्थकले भोट हालेनन् । 

हालसम्म भरतपुर महानगरपालिकाको वडानम्बर १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । प्राय प्रत्येक वडामा रेणुुले कांग्रेसको तर्फबाट उठेकी उपमेयरकी उम्मेद्वार शाह र कांग्रेसका सम्बन्धित वडाअध्यक्षको भन्दा कम मत पाएकी छिन् । यसबाट कांग्रेसले रेणुुलाई कदम कदम धोका दिएको देखिन्छ । 

उदाहरणका लागि वडानम्बर १ मा एमालेका देवी ज्ञवालीले १५१३ मत पाएका छन् । जबकि त्यही वडामा रेणुले ११३५ मत मात्र पाइन् । कांग्रेसकी उपमेयर उम्मेद्वार पार्वती शाहले भने सोही वडाबाट १४ सय मत पाइन् । यसको अर्थ रेणुलाई वडानम्बर १ बाट मात्र कांग्रेसको तर्फबाट ३ सयको हाराहारीमा मत आएन । त्यो मत देवी ज्ञवालीतर्फ गयो । 

वडानम्बर २ मा पनि रेणुको उस्तै हविगत देखियो । यो वडाबाट देवीले आफ्नो मतमा १२३६ मत थप्ने सफलता पाए भने रेणुुले भने ७३४ मत मात्र थपिन् । यो वडाबाट कांग्रेसकी उपमेयर उम्मेद्वार पार्वतीले १२ सयको हाराहारीमा मत थपिन् । यसको अर्थ वडानम्बर २ बाट नै पनि रेणुुलाई करिब ५ सय कांग्रेसको मत आएन भन्ने देखिन्छ । 

वडानम्बर ३ मा रेणुु केही सुविधाजनक अवस्थामा देखिए पनि त्यहाँ पनि केही समय कांग्रेसको मत उनलाई आएन् । बरु उनलाई नपरेको भोट ज्ञवालीलाई गयो र उनले त्यहाँबाट २४६८ मत थपे । पार्वतीले यो वडाबाट रेणुको भन्दा २ सय बढी मत प्राप्त गरिन् । 

मतगणना सम्पन्न भएका वडानम्बर ४ र ५ मा पनि रेणुलाई कांग्रेसबाट स्पष्ट धोका भएको मतगणनाको क्रममा देखियो । कांग्रेसका असन्तुुष्ट, माओवादीका असन्तुुष्टहरुको भोट समेत देवी ज्ञवालीले पाइरहेका मतगणनाको क्रममा देखिएको छ । 

भरतपुरका बाँकी वडामध्ये अधिकांश एमालेको गढ भएको र असन्तुुष्ट कांग्रेस कार्यकर्ताहरुको बढी बाहुल्य रहेको क्षेत्र भएकोले ती वडाबाट रेणुुलाई थप धोका हुने देखिन्छ । एक निर्वाचन अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘रेणुुले जित्न निकै कठीन देखिन्छ । यही सुुईको पाएर सानातिना कुरामा समेत विवाद झिक्न थालिएको छ । प्रचण्डले मत खसाएको वडानम्बर ४ मा यस्तै विवाद खडा गरिएको छ ।’