काठमाण्डौ । स्थानीय तह निर्वाचनका क्रममा जिल्लामा धेरै संयोग भेटिए । कतै चेलाले गुरुलाई हराए त कतै २० वर्षअघि हजुरबालाई हराएको बदला नातिले तिरे । नगरपालिकामा एउटा पार्टीबाट दाजु उम्मेदवार भएर मत माग्न हिँडिरहँदा भाइ भने फरक पार्टीलाई भोग मागेर हिँडे । यति मात्रै होइन, दुई भाइ पराजित हुँदै गर्दा दिदी भने भाइहरु हारेको खुसीयालीमा छमछमी नाच्दै थिइन् ।

हो, यस्तै धेरै रोचक र संयोगका बीच सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रवणकुमार जिसी ४ हजार ३ सय ६० मत ल्याउँदै विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी थिए, कक्षा १० सम्म जिसीलाई पढाउने गुरु शिवप्रसाद न्यौपाने । न्यौपानेले ३ हजार ९ सय ४४ मात्रै मत ल्याएका थिए । न्यौपानले कक्षा १० सम्म ठोकर्पाकी बाघभैरव माविमा पढेका थिए र त्यहाँका प्रधानाध्यापक थिए, शिवप्रसाद न्यौपाने।

चौतारा साँगाचोकगढी नगरपालिका–३ मा पनि रोचक चुनावी भीडन्त भयो । बहुदलीय व्यवस्थापछि भएका दुई स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बने नारायण पौडेल । उनी दुवै निर्वाचनमा गावि. अध्यक्ष भए । पहिलो स्थानीय निर्वाचनमा उम्मेदवार थिए राप्रपाबाट गेदबहादुर थापा । थापा त्यतिबेला पौडेलसँग पराजित भएका थिए भने ०५४ को स्थानीय निर्वाचनमा फेरि गेदबहादुरका छोरा गोकर्ण राप्रपाबाट गाविस अध्यक्ष्का उम्मेदवार भए । उनलाई पनि पौडेलले नै हराए ।

बाबु छोरा नै हराएको हिसाबकिताब थापा परिवारले ०७४ को स्थानीय तह निर्वाचनमा जितेरै छाडे । ०७४ को स्थानीय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिका–२ मा नेकपा एमालेबाट फेरि वडा अध्यक्षका उम्मेदवार पौडेल मैदानमा उत्रिए भने रापाका तर्फबाट गेदबहादुर थापाका नाति दीपेन्द्र थापा उम्मेदवार भए । बाजेदेखिको चुनावी बदला यसपटक थापाले तिरेरै छाडे । यो खबर आजको राजधानीमा छापिएको छ ।