काठमाण्डौ । चार महानगरमध्ये सबैभन्दा पुरानो महानगर काठमाण्डौको मेयरमा एमालेले बाजी मारेको छ । उपमेयरमा भने हालसम्मकै फराकिलो मतअन्तरको रेकर्ड राख्दै कांग्रेस विजयी भएको छ । 

शनिवार राति नै काठमाण्डौको मतगणना सकिए पनि जितको औपचारिक घोषणा भने आइतबार बिहान भएको हो । 

एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मतसहित मेयरमा बाजी मारेका हुन् । उनले निकटतम प्रतिदन्दी कांग्रेसका राजुुराज जोशी भन्दा १९ हजार बढी मत पाए । जोशीले ४५ हजार २ सय ६९ मै चित्त बुुझाउनुपर्यो । 

मेयर पदमा विवेकशीलकी रञ्जुु दर्शना २३ हजार ४ सय ३९ सहित तेश्रो स्थानमा रहिन भने चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ मत प्राप्त गरे । 

यसैगरी, उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले स्थानीय निर्वाचनको दोश्रो चरणकै सबैभन्दा बढी मतअन्तरले जित हासिल गरिन् । उनले ५८ हजार ९ सय ५२ मत पाउँदा उनका निकटतम प्रतिदन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै पाए । खड्गीले राप्रपाका श्रेष्ठभन्दा २४ हजार बढी मत अन्तरले शानदार जित हासिल गरेकी हुन् । 

यसअघि भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिले १९ हजार मतअन्तरले जित्दै रेकर्ड बनाएका थिए । उनको रेकर्डलाई खड्गीले तोडेकी हुन् । 

काठमाण्डौको उपमेयरमै साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याइन् ।